कलाकार ‘धतुरे’को समुहले गर्यो कार्की परिवारलाई सहयोग

केहि दिन अघि एक भिडियो एकाएक भाइरल बन्यो । घरमा खाना अन्न सकियो कतैबाट आउने ठाउँ छैन । रोगले भन्दा पनि भोगले मर्ने भइयो भन्दै एक छोरी र उनका बा सडकमा चित्कारले धेरैको मन छोएको थियो । उनीहरु थिए राजधानीको बागबजारमा कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्की र उनी छोरी ।

उनीहरुलाई हास्य कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । उनीहरुले बागबजार नै पुगेर आर्थिक तथा खाद्यान्न सहयोग गरेका हुन् । कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । उनकी कान्छी छोरीले जागिरबाट कमाएको साढे ८ हजकारको कमाईले धान्दै आएको र निषेधाज्ञाले जागिर छुटेपछि आर्थिक संकटमा परेको भिडियोमा उल्लेख गरेका थिए । कलाकार पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै आफु र आफ्नो समुहले केहि आर्थिक सहयोग गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘अन्ततः हिजो सामाजिक सञ्जालमा भेटिएका डिल्लीबहादुर कार्की र उहाँको परिवारसँग आज भेट्ने अवसर मिल्यो । दोलखा शैलुङ निवासी उहाँ एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने हुनु भएको रहेछ । कोरोना महामारीको पीडा र भएभरको सम्पत्ति आफ्नो उपचारमा सक्नु भएका अति नै विपन्न उहाँलाई म, अशोक खड्का तथा उत्तम खड्का उपस्थित भई २५,००० रुपैयाँ नगद, दुई बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेको छौं ।’