अभिनेत्री कंगना कोरोना संक्रमण मुक्त

बलिउड अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् ।

कंगनाले इन्स्टाग्राममा स्टोरीमा आफू संक्रमणमुक्त भएको बताउँदै कोरोना जित्ने अनेक तरिका सिकेको तर फलोवर्ससँग सेयर नगर्ने पनि उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘ममा कोरोना नेगेटिभ देखिएको छ । मैले कोरोनालाई कसरी जित्ने बारेमा धेरै भन्न सक्छु । तर म कोभिड फ्यानलाई अपमान गर्न चाहन्न । मेरो शुभ चिताउने सबैलाई धन्यवाद र माया ।’

गत साता इन्स्टाग्रामले उनको एउटा पोस्ट हटाएको थियो । उनले कोभिड फ्यान क्लबले रिपोर्ट गरेर यस्तो भएको हुनसक्ने बताएकी थिइन् ।

इन्स्टाग्रामको पोस्ट डिलिट हुनुभन्दा केही दिन पहिले उनको ट्विटर अकाउन्ट स्थायी रूपले सस्पेन्ड भएको थियो । यसभन्दा पहिले पनि उनको अकाउन्ट अस्थायी रूपले सस्पेन्ड भएको थियो ।

विवादित ट्विट गरेका कारणले उनको अकाउन्ट सस्पेन्ड भएको हो ।