पहिलो मिस नेपाल रुबी राणा लेख्छिन: जुन आजसम्म पनि रहस्य नै…

- मेराेफिल्म

विस २०५१ (सन् १९९४)मा मिस नेपाल बनेकी रुबीराणा शाह नेपालकी प्रथम मिस नेपाल हुन् ।

पहिलो मिस नेपाल रुबीले विश्व सुन्दरी ऐश्वर्या रायको छायाँमा आफू नेपाल सुन्दरी महत्वहीन भएको दुःखेसो गरेकी छिन्

मिस नेपालले यो लामो यात्रा तय गरिरहँदा आज मिस नेपालकी सुन्दरीहरु ‘मिस वल्र्ड’, ‘मिस युनिभर्स’जस्ता अन्तर्राष्ट्रिय प्लेटफमका कारण विश्वभरबाट माया र सम्मान पाउन थालेका छन् ।

तर, रुबी राणाले सुरुगर्दा यात्रा त्यति सजिलो कहाँ थियो र ? त्यसैले त होला उनले आफ्नै देशबाट पनि सोचेको जस्तो माया र सम्मान पाउन नसकेको गुनासो गर्ने गरेकी छिन् ।

रुबी राणाले २५ वर्ष अगाडिको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा राजपरिवारसँगको एउटा घटना स्मरण गरेकी छिन्  ।

यो तस्बिर सन् १९९५ को हो । पेप्सीकोला हिरक साँझ १९९५ दौरानको घटना फेरि मेरो मानसपटलमा ताजा भएर आयो ।
यो तस्बिर त्यति बेलाका सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यू, विश्व सुन्दरी एश्वर्या राय पेप्सीकोलाकी ब्रान्ड एम्बेस्डर र म, प्रथम नेपाल सुन्दरी रुबी राणाको हो ।
त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्या रायको बडा महारानी ऐश्वर्य राज्यलक्ष्मी शाहसँगको दरबारमा दर्शनभेटको कार्यक्रम तय भएको थियो ।
एकदमै खुशी लागेको थियो, रानीसँग भेट्न र कुराकानी गर्न ।

तर एक्कासि मलाई आयोजकबाट, ‘तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने’ खबर आएपछि मनै खिन्न बनायो । म असमन्जसमा परेँ । ‘किन र?’ यही प्रश्न थियो मेरो । ‘खै थाहा भएन’, भन्दा मलाई साह्रै दुःख लाग्यो ।

‘किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने ?’ मनमनै खिन्न भावनाले मलाई खाँदै थियो । वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनकजंग बहादुर राणा र कमलादेवी राणाको पक्कै पनि प्रिन्सेस थिएँ म । र नेपालको प्रथम नेपाल सुन्दरी । किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा ।
अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि ?

मलाई त मेरो रानीलाई साक्षात दर्शन गर्नुथियो । ‘उकाली ओराली’गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो । रानीको भुक्क फुलेको देवीको जस्तै केशसज्जा हेर्ने धोको थियो ।

काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो । कमल कोपिलाजस्तो हातमा काचका चुराहरू खन्केको आवाज सुन्नु थियो । जति मैले मेरो रानीलाई चिनेको थिएँ विश्व सुन्दरीले के चिनेकी थिई होला । मलाई किन भेट नदिइबक्सेको होला ? हो पाहुना ईश्वर हुन्, मान्दछु, । र म को ? म त आफ्नै देशको चेलीबेटी , छोरी । मलाई अपहेलित गरे जस्तो भावना लाग्यो ।

माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हीन भावनाले मलाई मेरो ताजको महत्व र चमक धमिलो लाग्न थाल्यो । मनमा अनेकौं प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आँसुका धारले रानीप्रतिको मायालाई पखाल्दै गयो ।

मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागेँ । हुन सक्छ, यो मेरो मनको वह मात्र हो । यही दृढ़ संकल्पका साथ म आफँै खुशी रहेँ । म आफ्नो मनको रानी बन्न सक्छु । मनको रानी, धनको रानी हैन ।

त्यो यही दिनको तस्बिर हो । ऐश्वर्या रायले बडामहारानीलाई भेटेर आएपछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियाँै ।
कालो चिल्लो मर्सिडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चढेर । मलाई सम्झना छ विश्व सुन्दरी अंग्रेजीमा बडा महारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेको थिएँ ,केही नबोली । मेरो मनको पीडा र डाहले मन पोल्दै थियोे । एक शब्द केही नबोली मैले कुनै प्रतिक्रिया जनाइन् । ‘आर यु ओके’ भनेर पनि सोधिन्, विश्व सुन्दरीले ।
मैले मुन्टो मात्र हलाएर जवाफ दिएँ । तर जब मैले प्रधानमन्त्रीज्यू र उहाँको श्रीमतीलाई भेटेँ मेरो मुड एकदमैसित परिवर्तन भो । अति सरल र मिजासिलो । उहाँको श्रीमतीले गरेको आदर सत्कार र कुराकानीले मलाई अति नै प्रफुलित बनायो । अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो ।

उहाँले भन्नुभो , ‘हामी देशबासीहरु एकदमै खुसी छौँ तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । निरन्तरता जारी रहोस् ।
पछाडिबाट मधुरो स्वरमा, ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहिछिन् ’ प्रधानमन्त्रीज्यूको श्रीमतीले भन्नुहुँदा हामी सबै हाँसेका थियाैँ ।

सम्झनाका कुराहरू जुन मैले व्यक्त गरेँ यो एउटा मनमा बिझेको काँडा जस्तो थियो । जुन आज निकालेर हजुरसमक्ष पेस गर्दैछु । र पनि मेरो मनको रानीले बडामहारानी ऐश्वर्यलाई सधैं खोजिरह्यो । भाग्यमा भेट्न थिएन होला र पो भेट भएन भनेर मेरो मनको रानीले मलाई बेला बेला सम्झाउँछे ।

२०७८ जेठ ४ गते १६:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *