दुई हप्ता अगाडि विवाह गरेका ब्राजीलियन गायक केभिनले गरे आत्महत्या

ब्राजीलियन गायक एमसी केभिनले रियो दे जेनेरियोको एउटा होटलको पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

उनले आफ्नी प्रेमिका डियालेन बेजेरासंग दुई हप्ता अगाडि मात्रै विवाह गरेका थिए ।

समाचारमा जनाइए अनुसार केभिनले आत्महत्या गरेको स्थानमा फायर ब्रिगेड पनि पुगेको थियो, जसले २३ वर्षीय गायकलाई अस्पतालमा लिएर गएको थियो ।

केभिनको स्थिति अत्यन्त गम्भीर रहेको बताइएको थियो, जसको केही समयपछि उनको निधन भएको समाचारमा जनाइएको छ ।

केभिन आफ्नी श्रीमतीसंग होटलको ११ औं तल्लाको कोठामा बसेका थिए । त्यही होटलको पाचौं तल्लामा उनका साथी उनलाई भेट्न बसेका थिए, जहाँबाट केभिनले हामफालेर आत्महत्या गरे । अहिले केभिनको आत्महत्या बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ ।

केभिनकी श्रीमती डियालेन बेजेरा पेशाले एक क्रिमिनल वकिल हुन् ।

केभिनको निधनपछि श्रीमती डियालेनले एउटा ब्ल्याक एन्ड व्हाइट फोटो सोशल मिडियामा पोस्ट गरेकी छिन् । त्यस माध्यमबाट उनले आफ्ना श्रीमान्लाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

डियालेनले पोर्चुगील भाषमा लेखेको पोस्ट निकै भावुक छ । ब्राजिलियन गायक एमसी केभिन साओ पोलोमा जन्मेका हुन । उनको इन्स्टाग्राममा १० मिलियन फलोअर्स छन् ।

केभिन पलिस्ता फंक संगीतले परिचित थिए । उनका धेरै भिडियो पनि भाइरल भएका थिए । केभिनलाई बेलो हरीजन्टे सिटीको एउटा होटलबाट पक्राउ पनि गरिएको थियो । २०१९ मा केभिनलाई ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस बाहेक केभिनमा विभिन्न आरोप लागेको थियो ।

२०२० मा छिमेकीले उनलाई कोभिड-१९ को नियम उल्लंघन गरेको आरोप पनि लगाएका थिए ।