बोर्डको पहलमा एक साताभित्र फिल्मकर्मीलाई कोरोना विरुद्धको खोप

नेपाली फिल्मकर्मीले एकसाता भित्र कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् । गत शुक्रबार चलचित्र विकास बोर्डका सदस्य तथा अभिनेता राज कटुवालले स्वास्थ्य मन्त्रालयमा तीन हजार फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

तर, सोही साँझ स्वास्थ्य मन्त्री हेरफेर भएपछि हिजो (बुधवार) बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राजले नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै फिल्मकर्मीलाई खोप उपलब्ध गराइदिन माग राखेका थिए ।

सोही माग अनुसार ३ हजार फिल्मकर्मीलाई खोप लगाउने निर्णय भएको हो । मन्त्रीले भेटमा फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।