नर्भिकमा उपचारत अभिनेत्री निशालाई चलचित्रकर्मी कल्याण कोषद्वारा सहयोग

कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले आर्थिक सहयोग गर्ने भएको छ। नर्भिक अस्पतालमा उपचार घिमिरेलाई नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने बोर्डले जनाएको हो।

करिव तीन वर्षअघि भारतको देहरादूनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि आर्थिक अभावमा घरमै कारुणिक जीवन बिताइरहेकी कलाकार घिमिरेको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ। सामाजिक अभियान्ता दुर्गानाथ दाहालको पहलमा निर्भिक अस्पताल पुर्याइएकी निशाको सम्पूर्ण उपचार नर्भिक अस्पतालले नै गरिदिने पनि अस्पतालकी निर्देशक मेघा चौधरीले बताएकी छिन्।

यसैबीच कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले एक विज्ञप्ति जारी गर्दै कलाकार घिमिरेको परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग रकम उपलब्ध गराउन विकास बोर्ड अन्तर्गतको कल्याण कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्य सचिव महेन्द्रप्रसाद साँखी, विकास बोर्डका अध्यक्ष दयाराम दाहालप्रति धन्यवाद ज्ञापन गरेका छन्।

साथै अध्यक्ष खड्काले नर्भिक अस्पतालले निःशुल्क उपचार गर्ने निर्णय गरेकोमा अस्पतालकी निर्देशक मेघा चौधरीप्रति पनि संघको तर्फबाट आभार प्रकट गरेका छन्। अध्यक्ष खड्काका अनुसार उक्त रकम कलाकार घिमिरेका बुबालाई हस्तान्तरण गरिनेछ।