रहेनन् १ सय बढी फिल्ममा काम गरेका ‘रामायण’का ‘आर्य सुमन्त’

भारतका ५० र ६० दशकका चर्चित कलाकार अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ ।

उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

गएको साता बिहिबारदेखि ज्वरो आएपछि उनलाई क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै उनलाई घरमा ल्याइएको थियो ।

चन्द्र शेखरको निधनको पुष्टि उनका नाति विशाल शेखरले गरेका छन् । उनले मिडिया कुराकानीका क्रममा हजुरबुबाको निधन भएको बताएका हुन् । उनले भने– ‘हजुरबुबाको शान्त तरिकाले निधन भएको छ ।’

उनी ‘रामायण’ बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री ‘आर्य सुमन्त’ को भूमिका निभाएका थिए ।

उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका थिए । उनले फिल्म निर्देशन पनि गरेका थिए । उनले १९६४ मा फिल्म ‘चा चा चा’ र १९६६ मा फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन गरेका थिए ।

कुनै रोग नभएका चन्द्र शेखरमा निकै ज्वरो देखिएका कारण गत हप्ताको बिहीबार उनलाई जुहुस्थित क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । पछि एक दिनमै घरमा ल्याइएको थियो । नाजुक समयमा परिवारसँगै रहने इच्छा भएको कारण उनका छोरो अशोक शेखरले चन्द्र शेखरको लागि घरमै अस्पताल जस्तै ब्यवस्था गरिदिएका थिए ।

चन्द्र शेखरले ५० को दशकमा जुनियर कलाकारको रुपमा अभिनय करियर सुरु गरेका थिए । थुपै्र फिल्ममा जुनियरको कलाकारको रुपमा काम गरेपछि उनलाई हिरोको रुपमा अभिनय अवसर मिलेको थियो । हिरोको रुपमा पनि उनले कयौं फिल्म अभिनय गरेका छन् । ११० भन्दा बढी फिल्ममा काम गरेका उनले १९६४ मा आएको फिल्म ‘चा चा चा’ र १९६६ मा आएको फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन समेत गरेका थिए ।

रामानन्द सागरले बनाएको रामायणमा उनले राजा दशरथको महामन्त्री ‘आर्य सुमन्त’ को भूमिका निर्वाह गरेका थिए । यो भूमिकामा उनले निकै लोकप्रियता हासिल गरेका थिए । चन्द्र शेखर रामानन्द सागरका नजिकका मित्र समेत रहेका थिए ।