हङकङको फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’मा प्रमुख भूमिकामा नेपाली युवक

हङकङको मूलधारको फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् ।

१७ औं हङकङ एसिया फिल्म फेस्टिभलको ओपनिङ फिल्म हो, ‘ह्यान्ड रोल्ड सिगरेट’। छन किङ लङ निर्देशित यो फिल्म ‘गोल्डेन हर्स फिल्म फेस्टिभल’को क्लोजिङ फिल्म पनि हो ।

हङकङ, ताइवान र सिंगापुरमा फिल्मको प्रिमियर भएसँगै एक नेपाली युवा यतिखेर चर्चामा छन् । पोखराका उनी हुन्- विपिन कर्मा । हङकङ निवासी नेपालीबीच मात्रै होइन त्यहाँका दर्शकबाट आफ्नो अभिनयको प्रतिक्रिया बटुल्दैछन् विपिन ।

हङकङको मूलधारको फिल्ममा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ प्रदर्शनमा आएको छ।

यससँगै हङकङको फिल्म क्षेत्रमा चिनियाँबाहेकका कलाकारहरूको प्रवेशको शृंखला पनि सुरु भएको छ ।

हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै विपिनले ‘ह्यान्ड रोल्ड सिगरेट’मा प्रभुख भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा कर्माले हङकङका चर्चित कलाकारहरू गोर्डेन ल्याम, लिङ जिएतोङ, माइकल, ताइबो, बेन युइनलगायतका कलाकारसँग अभिनय गरेका छन् । हङकङ, ताइवान, सिंगापुरमा प्रिमियर हुने फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् ।

फिल्ममा दक्षिण एसियाली पात्र म्यानीको चरित्रमा उनी देखिएका छन् । म्यानीको पहिचान संकटमा हुन्छ । उनको काँधमा भाइको जिम्मेवारी छ । काम नपाएपछि उनी ड्रग्स व्यापारमा संलग्न हुन्छन् । त्यहीक्रममा एकदिन ब्रिटिस औपनिवेशिक सेनामा सेवा पुर्याएका सेवानिवृत्त सैनिक क्वानसँग उनको भेट हुन्छ । दुवैले मिलेर अगाडिको यात्रा तय गर्छन् । विपिनलाई फिल्मको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ ।

हङकङको सिनेमा घरहरूमा कहिल्यै फिल्म नहेरेका नेपालीहरू पनि कर्मा अभिनीत फिल्म हेर्न उत्सुक देखिएका छन् । आफ्नो समुदायका मानिसले गरेको काम भएकाले पनि गौरव महसुस भएको हङकङमा रहेका नेपालीहरुले बताए ।

८ वर्ष पोखरामा हुर्केका विपिन आफ्नो यो डेब्यु फिल्मले अवसरहरुका ढोका खोलिनेमा आसावादी छन् । ‘यो फिल्मले अन्य ढोकाहरु खोलिँदै जानेछ भन्ने आशा छ,’ उनले भने ।

हङकङका फिल्ममा ‘नन-चाइनिज’ कलाकारले प्रमुख पात्रको भूमिका कमै पाउँछन् । आफू फरक पृष्ठभूमिको हुँदाहुँदै फिल्ममा प्रमुख भुमिका पाउँदा उनी खुसी छन् । ‘प्रमुख भूमिकाका हिसाबले यो मेरो पहिलो सुरुवात हो । म भाग्यमानी नै छु,’ विपिनले भने ।

बाल्यकाल नेपालमा बिताए पनि विपिन हङकङमा हुर्के, उतै पढे । हाइस्कूल पढ्दै गर्दा फिल्म बनाउने एक क्याम्पेनमा उनी सरिक भएका थिए । विशेष त नन-चाइनिजहरुलाई लघु फिल्म बनाउन दिने क्याम्पेन थियो त्यो । विपिनले लघु फिल्म बनाए । त्यसपछि उनलाई फिल्मप्रति चासो बढ्यो, ‘मलाई मनपर्ने क्षेत्र यो पो हो ।’

उनी पार्कर भिडियोहरु बनाएर इन्टरनेटमा राख्थे । १५ वर्षको हुँदा हङकङको पहिलो डान्स फिल्म ‘द वे वीइ डान्स’मा स्टन्ट गर्ने मौका पाएका थिए । रमाइलोका लागि साथीहरुसँग मिलेर पार्करको भिडियो इन्टरनेटमा राख्ने विपिनले पार्करकै केही विज्ञापनमा पनि काम गरेका छन् ।

एक विश्वविद्यालयको ५५ औं वार्षिकोत्सवमा आयोजना गरिएको फिल्म फेस्टिभलका बनाइएको फिल्ममा गरेको अभिनय देखेर ‘ह्यान्ड रोल्ड सिगरेट’का निर्देशकले सम्पर्क गरेको विपिन बताउँछन् । २४ वर्षिय विपनिले सुनाए, ‘अभिनय गर्ने कहिल्यै सोचेको थिइनँ । तर यो भाग्यमै लेखेको रहेछ । ‘कर्मा’ भनौं न ।’

यो फिल्म क्यान्टोनिज भाषामा बनाइएको छ । उनले आफूले न्याय गर्न सक्नेमा दुविधा भएकाले फिल्ममा अभिनय नगर्ने निर्णय गरेको तर निर्देशक छनले भेटेरे कुराकानी गरेपछि आफू तयार भएको पनि बताए ।

फिल्मले हङकङमा रहेका नन-चाइनिजलाई प्रभाव पार्नेमा उनी ढुक्क छन् । ‘हङकङमा ज-जसले प्रिमियरमा फिल्म हेर्नु भएको छ उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभयो,’ उनले भने, ‘यहाँ रहेका ८ प्रतिशत नन-चाइनिजलाई यो फिल्मले प्रभाव पार्छ होला ।’