पहिलो पटक बायोपिकमा अभिनय गर्दै सलमान खान

बलिउड अभिनेता सलमान खानले आफ्नो ३२ वर्षे फिल्मी करियरमा कमेडी, ड्रामादेखि लिएर एक्सन र रोमान्टिक फिल्ममा काम गरे । फिल्मी यात्राको यी फ्लेभरलाई थाँती राख्दै उनी पहिलोपटक बायोपिक फिल्ममा देखिदैछन् ।

बलिउड अभिनेता सलमान खान बायोपिक फिल्ममा अभिनय गर्ने भएका छन् । उनी निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्ममा ‘ब्ल्याक टाइगर’का रुपमा चर्चित भारतीय जासूस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्ने भएका हुन् ।

भारतिय समाचारमा एक्सन थ्रिलरको यो फिल्मलाई भारतीय इतिहासको अविश्वसनीय सत्य कथा भनिएको छ । सलमान साजिद नाडियाडवालाको फिल्ममा काम पुरा गरेपछि यो फिल्ममा व्यस्त हुने बताइएको छ । निर्देशक राजकुमारले विगत पाँच वर्षयता रवीन्द्रको बारेमा अध्ययन गरिरहेको बुझिएको छ । रवीन्द्रलाई भारतमा हालसम्मकै राम्रो जासूसका रुपमा चिनिन्छन् भने उनैको बारमो फिल्मको पटकथा तयार पारिरहेका छन् ।

फिल्ममा काम गर्नका लागि सलमान खानलाई कथा सुनाउँदा सलमानले काम गर्ने मनसाय बनाएको समाचार बाहिरिएको छ । सलमान खानलाई नै फिल्ममा सुहाउने भएकाले उनैलाई अफर गरिएको निर्देशक राजकुमारले बताएका छन् । उनले सलमानलाई पटकथा सुनाउदा सलमान सैद्धान्तिक रुपले फिल्म गर्न सहमत भइसकेको समेत जानकारी दिएका छन् ।

अहिले यसको निर्माता को हो भन्ने बारेमा टुङ्गो लागेको छैन । केही निर्माताहरुसँग अहिले फिल्मको विषयमा छलफल भइरहेको राजकुमारले बताएका छन् । राजकुमारको टिमले रवीन्द्रको ७० देखि ८० को दशकको समयलाई पर्दामा ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् । यस फिल्ममा आफु काम गर्न लागेको या न लगागेको बारेमा सलमान खानले कुनै प्रतिक्रिया दिएका छैनन् । उनका निकट मान्छेहरुले भने सलमान खान यस फिल्ममा काम गर्न इच्छुक देखिएको बताएका छन् ।