नेपालमा हलिउड फिल्मको छायांकनका लागि पहल गर्ने राजदूत युवराज खतिवडा भनाई

अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउन पहल गर्ने बताएका छन् । उनले बिहीवारदेखि भर्चुअल रुपमा सुरु भएको नेपाल–अमेरिका फिल्म फेस्टिभलको शुभारम्भ गर्दै सो कुरा बताएका हुन् ।

नेपाल प्राकृतिक फिल्म स्टूडियो रहेकाले नेपालमा फिल्म खिच्न हलिउडका निर्माता÷निर्देशकसँग पहल गर्ने समेत बताए ।
कार्यक्रममा उनले भने– ‘केही दिनअघि लस एन्जल्स सहरको भ्रमण गर्दा मैले केही हलिउड फिल्मका निर्माताहरुसँग भेट गरेको थिएँ । उहाँहरु नेपालमा छायांकनको लागि आकर्षित भएको पाएँ । नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउनका लागि पहल गर्नेछु ।’

मेरिल्यान्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले अमेरिकामा नेपाली संस्कृति र इतिहास जोगाउन आफू लागिपरेको बताएक । उनले कार्यक्रममा बोल्दै नेपाल र अमेरिकाको कथामा फिल्म बनाउन सुझाव दिए । नेपाल अमेरिका फिल्म फेस्टिभल जुन १७ देखि २० सम्म चल्ने छ भने नेपाल र अमेरिकासहित १४ देशका ३० फिल्म प्रदर्शन हुनेछन् । प्रतिस्पर्धी फिल्ममध्ये उत्कृष्टलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने आयोजकले बताइएको छ ।

यस फेस्टिभललाई स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत् महोत्सवमा प्रदर्शन हुने फिल्म र छलफल निःशुल्क हेर्न सकिनेछ । महोत्सवको जुरीमा नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब छन् ।