मेलम्चीबासीलाई दीपाश्री र स्वस्तिको ५०–५० थान ब्ल्याङ्केट र म्याट

कलाकार राष्ट्रका गहना हुन् । उनीहरुले बोलेको र कुरा गरेको धेरै बिक्ने गर्छ । देशमा संकट आइपरेको बेलामा मलम लगाउने काम पनि कलाकारले नै गर्ने गरेका छन् । असार लागेसँगै अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो जानेक्रम जारी रहेको छ । गत मंगलबार सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट झन्डै ५ सय परिवार प्रभावित बनेका छन् ।

बाढीबाट प्रभावित बनेका मेलम्चीबासीलाई नेपाली कलाकारहरुले राहत वितरण कार्यलाई तिव्र बनाएका छन् । निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काको टिमले हिजो मेलम्ची पुगेर राहत वितरण गरेका छन् । उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट ५०–५० थान वितरण गरेको बताएका छन् । साथै उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेको जनाएका छन् ।

यो भन्दा अघि अभिनेत्री स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा, कुमार कट्टेल, मिलन चाम्स चलायको टिमले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् । कलाकार सिताराम कट्टेल पनि राहत बोकेर मेलम्ची जाने कार्यक्रम समेत तय गरिएको छ । सरकारले अहिले राहत वितरण नगर्न आदेश जारी गरिसकेको अवस्थामा कलाकार तथा राजनितिक दलका भातृ संगठनहरु अहिले राहत पुर्याउन तछाँड मछाँड गरिरहेका छन् ।