मेगा ट्यालेन्ट शोमा गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने

मेगा ट्यालेण्ट अनलाइन रियालिटी शो आयोजना हुने भएको छ । जहाँ एउटै मञ्चबाट गायन, नृत्य र अभिनयको प्रतिभा छानिने छन् । भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज इस्टेज वर्क गुहाटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो सो हुन लागेको हो ।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेडले यस प्रतियोगिता आयोजना गर्दैछ । यो रियालिटी शो नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेण्ट हण्ट रियालिटी सो प्रशारण हुने आयोजकले जानकारी दिएको छ ।
यस रियालिटी शोमा नेपाली र भारतीय फिल्म र संगीत उद्योगका हस्तीहरूलाई निर्णायकका रुपमा राखिने आयोजकले बताएको छ ।

आयोजकका अनुसार डिजिटल पेमेन्ट गेटवे ‘डीजी पे’ मुख्य प्रयोजक रहने कार्यक्रममा तीनवटै विधाका विजेतालाई टी सिरीज इस्टेज वर्क गुहाटीमा काइजेन इन्कको तर्फबाट १० लाख बराबरको छात्रवृत्ति प्रदान गरिने छ । साथै मुख्य विजेताले १०० प्रतिशत त्यस्तै उप–विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

विजेताहरू तथा प्रतिस्पर्धीहरुले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गर्नेछन् । छनौट चरणका ८ सेमिफाइनलका २ र ग्राण्ड फिनालेको १ सहित ११ एपिसोडमा पूरा हुने रियालिटी शोमा विजेताको छनौट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिनेछ ।