गणेश थापाको ‘तिमीसँग दिल बस्यो’ सार्वजनिक

गायक गणेश थापाले फेरि अर्को नयाँ गीत ‘तिमीसँग दिल बस्यो’ को भिडियो बजारमा ल्याएका छन् ।

उनले दुई साता अघिमात्र ‘आयो मेरै राजा’ बजारमा ल्याएका थिए । नयाँ गीत तिमीसँग दिल बस्योको भिडियो मँगलबार बेलुका बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।

यो गीतमा सुन्दर पन्तको रचना, बलराम राजबंशीको संगीत रहेको छ । यो भिडियोलाई डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् । रोमाञ्चक शैलीको यो गीतको भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ । यो भिडियोमा राहुल र साक्षीको अभिनय प्रभावशाली देखिएको छ । आफूहरुको अभिनयलाई दर्शकले मन पराएको कलाकार साक्षी लम्सालले बताएका छन् ।

भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा टंक केसीको छायांकन, सुरेश कुमार राउतको सम्पादन, शोभा श्रेष्ठको श्रंगार रहेको छ । यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन् ।

केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुई वटा गीत रेकर्ड गरेका हुन् । आफ्नो अघिल्लो गीत ‘आयो मेरै राजा’ लाई दर्शकले रुचाएपछि अहिले दोस्रो गीत बजारमा ल्याएको गायक थापाले बताए । चाँडै अर्को समेत गीत समेटेर गीतिसंग्रह बजारमा ल्याउने तयारी गरिरहेको पनि उनले बताएका छन् ।