वर्णका कारण मैले फिल्ममा धेरै रिजेक्सन झेलेको छु

अभिनेत्री ऋचा घिमिरे आफु वर्णका कारण फिल्मबाट निकालिनु परेको बताएकी छन् । एक टेलिभिजनको अन्तर्वार्ताक्रममा उनले अभिनयमा सक्रिय रहँदा वर्णका कारण पनि धेरै फिल्मबाट आफूलाई रिजेक्ट गरिएको बताएकी हुन् ।

उनले भनेकी छन्,‘म पिक्चर परर्फेक्ट एक्ट्रेस होइन । अभिनेत्रीको जुन मानक बनेको छ त्यसमा मेरो केही म्याच हुँँदैन थियो । मेरो वर्णको कारण मलाई फिल्मबाट रिजेक्ट गरिन्थ्यो, मेरो इनोसेन्ट अनुहार छैन भनेर पनि हटाइन्थ्यो । मैले फिल्ममा धेरै रिजेक्सन झेलेको छु ।’
एक समय की चर्चित अभिनेत्रीका रुपमा चिनिएकी ऋचा केहि वर्ष देखि अमेरिकामा बस्दै आएकी छन् । उनले फिल्म क्षेत्र छोडेर अमेरिका पलायन हुनुको रहस्य समेत खोलेकी छन् ।

उनका अनुसार फिल्म क्षेत्रमा फोहोरी राजनीति देखेपछि उनी अमेरिका गएकी हुन् । फिल्म ‘ब्रेकफेल’ रिलिजको समयमा फिल्म क्षेत्रमा देखेको फोहोरी राजनीतिले आफूलाई अमेरिकामा सेटल हुनका लागि निर्णय लिन बाध्य बनाएको ऋचाको दाबी छ । आफैले निर्माण गरेको फिल्म ‘ब्रेकफेल’ असफल भएपछि उनी अमेरिका उडेकी थिइन् ।

नेपाली फिल्ममा राम्रो अभिनेत्रीको छाप बनाएकी ऋचाले फिल्म रिलिजको समयमा फिल्मकर्मी कै साथ नपाएको गुनासो समेत गरेकी छन् । उनले भनिन्,‘ मैले बनाएको फिल्म ‘ब्रेकफेल’ रिलिजको समयमा फिल्मकर्मीबाटै साथ नपाएपछि अमेरिका जाने निर्णय लिन बाध्य भएको थिएँ ।’
सबैको साथ पाएको भए विदेशमा सेटल हुनु पर्ने कारण समेत नभएको ऋचाको भनाई छ । उनले कुराकानीका क्रममा आफू अमेरिकी सिटिजन लिने सोचमा नभएको बताएकी छन् । उनले ग्रीनकार्ड लिनुको उदेश्य छोराछोरीको भविस्यका लागि रहेको बताएकी छन् । उनले बच्चाका लागि शिक्षा, स्वास्थ्य नै हाम्रो उद्देश्य थियो, त्यो पूरा भएको समेत भनेकी छन् ।