“मेहन्दीको रङ्ग” प्रेम जाँच्ने मेहन्दीप्रति कटाक्ष

विगत डेढ वर्षदेखि नेपाली फिल्म क्षेत्र ठप्प छ। बन्द छन् सिनेमा हल। बन्द छ नयाँ फिल्म निर्माण कार्य। विचमा कोरोनाको माहोल केही कम भएसंगै केही नयाँ फिल्मको छायांकन सुरु त भयो तर प्रदर्शन हुन पाएनन् । कोरोना फैलिनु अघि नै बनेका फिल्म पनि रिलिज हुन नपाएर प्रोडकन्सन रुममै थन्किएर बसेका छन् ।

जसले गर्दा नेपाली फिल्म निर्माता, निर्देशक एवं फिल्मकर्मीसंगै दर्शकहरूमा समेत निराश्यता छाएको छ। हो, यही कुरालाई मध्यनजर गर्दै निर्देशक एवं लेखक लक्ष्मण सुवेदी सटफिल्मको निर्माणमा जुटेका छन् । कारण एउटै हो, विगत डेढ वर्षदेखि फिल्म हेर्न व्याकुलता भएका दर्शकलाई थोरै भएपनि मनोरञ्जन दिन।

त्यसो त, लक्ष्मणको लेखनमा रहेको फिल्म “कृष्ण लीला” पनि प्रदर्शन हुन नपाएर त्यतिकै बसेको छ। तरपनि आफ्नो कर्मलाई केही चलायमान बनाउनको लागि सटफिल्म “मेहन्दीको रङ्ग” केही दिन अघि रिलिज गरेका हुन् लक्ष्मणले।

उक्त सटफिल्ममा भोलाराज सापकोटा, सरु खत्री, मनिषा सापकोटा र नीर न्यौपानेको अभिनय रहेको छ। भोला सरुको श्रीमानको भुमिकामा छन् भने नीर मनिषाको श्रीमानको भुमिकामा रहेका छन्। नेपाली समाजमा नारीहरुले विशेषगरी श्रावण महिनामा हातमा लगाउने मेहन्दीको रङ्गले माया जाँच्ने जुन गलत विश्वास छ, त्यसलाई यस सटफिल्ममा उत्कृष्ट तरिकाले देखाइएको छ।

नेपाली समाजमा जस्तै यस् सट फिल्ममा पनि सरुले आफ्नो श्रीमानको नाममा मेहन्दी लगाउँछिन्। त्यही समयमा सरुको बहिनी मनिषा नजिकै आइपुग्छिन। सरुले मनिषाको हातमा मेहन्दीको गाढा रङ्ग देख्छिन। अनि आफ्नो हातमा लगाएको मेहन्दीको रङ्ग गाढा नबसेको र आफुलाई भोलाले रत्तिपनि माया नगरेको भन्दै रुन थाल्छिन। तर भोलाले भने माया मनमा हुने र मेहन्दीको रङ्गमा विश्वास नगर्न सुझाउँदै सरुलाई काममा सघाउने अनि सहयोग गर्ने गर्छन् ।

तर यता मेहन्दीको रङ्ग गाढा बसेको मनिषाका श्रीमान निरले भने श्रीमतीको अगाडि माया गरेको जस्तो नाटक गर्छन् अनि बाहिर परस्त्रीसंग लठारिँदै हिड्छन। जुन कुरा मनिषालाई अत्तोपत्तो पनि हुन्न। तर नीर भोलाको साथी भएकोले, भोलालाई भने यि सब कुरा थाहा हुन्छ। अनि भोलालाई यि सब कुरा देख्दा दिक्क लाग्छ।

यसरी एउटा मेहन्दीको रङ्गमा मायाको मापन गर्ने हाम्रो नेपाली समाजका दिदीबहिनीको गलत विश्वासप्रति यस सट फिल्मले कटाक्ष गरेको छ। यस सट फिल्मको लेखन अनि निर्देशन लक्ष्मणले नै गरेका हुन् । पछिल्लो समय नेपाली समाजमा मौलाउँदै गएको यस्तो गलत विश्वासलाई भिडियोमा गजब तरिकाले उतारेका छन् लक्ष्मणले।

शो टिभी नेपाल युट्युब च्यानलबाट रिलिज भएको यो सट फिल्म ६ मिनेट ३५ सेकेन्डको छ। तर एउटा पुरै चलचित्र हेरेको जस्तो आभाष हुनेगर्छ । चलचित्र पारखीहरुको यो सट फिल्मले मन अवश्य जित्नेछ।

दीक्षा कृयशनको प्रस्तुति रहेको “मेहन्दीको रङ्ग”लाई बिमल ढकालले खिचेका हुन् । त्यस्तै, ललित सिंह साउदले सम्पादन गरेको यस सट फिल्मका प्रोड्युसर दिलिशा, सारा र श्रीदेवी हुन् ।