राजेश कै नामको अर्को फिल्म ‘म राजेश हमाल’ बन्दै

अभिनेताको राजेश हमालको नामको अर्को फिल्म निर्माण हुने भएको छ । फिल्मका निर्माता केदार भुषालले फिल्म ‘म राजेश हमाल’ निर्माण गर्न लागेको बताएका हुन् ।
उनले मेरो फिल्मसँगको कुराकानीमा फिल्मको तयारी भइरहेको जानकारी दिए । अभिनेता हमालको नाममा यसअघि फिल्म ‘राजेश दाइ’ शीर्षकको निर्माण भएको थियो ।
निर्माता केदार भुषालले हमालको योगदानलाई ट्रिब्युट गर्ने गरी फिल्म बनाउन लागेको तर,उनको जीवनमा निर्माण भने नभएको बताए । उनले भने,‘अहिले फिल्मको तयारी भइरहेको छ । अभिनेता राजेश हमालसँग पनि एक दुइ पटक कुरा भएको छ तर, फिक्स चाही भएको छैन । अहिलेलाई नाम मात्रै लिएको हो ।’
राजेशको सम्मानमा बन्न लागेको फिल्ममा केहि कलाकारहरु छनोट समेत भइसकेका छन् । उनका अनुसार फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने अनुबन्ध भइसकेका छन् भने अतिथि भुमिकामा हमाललाई देखाइने छ ।
फिल्मलाई ‘१२ सत्ताइस्’का निर्देशक जोन योञ्जनले निर्देशन गर्दैछन् भने फिल्मको सुटिङ भदौको तेस्रो साता धनगढीबाट सुरु गर्ने निर्माण टिमको तयारी छ । कोरोना महामारी झन् फैलियो भने अवस्था हेरेर छायांकनमा निस्कने निर्माता भुषालले बताए ।