फिल्म अभिनेत्री मौसमी मल्ल ‘बाटुली’मा सासुको भूमिकामा

फिल्म अभिनेत्री मौसमी मल्ल अभिनित सिरियलमा ‘बाटुली’ प्रसारणमा आएको छ । पारिवारिक बिषयमा निर्माण भएको सिरियलमा मौसमी छुची सासुको रुपमा देखिएकी छन् । उक्त सिरियल आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ ।

गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार भएको यो श्रृङ्खलालाई २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा देखाउन खोजिएको निर्देशक गोपिकृष्णले जानकारी दिएका छन् । टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले नै लेखेका हुन् ।

‘पछिल्लो समय नेपालमा धेरै सिरियल निर्माण भइरहेको छ । ती मध्य प्रायः सिरियल अहिलेको कथामा छन्’ निर्देशक चापागाईँले भने, ‘हामीले भने पुरानो कथालाई उठान गरेका छौं ।’ सिरियलको कथा समेत चापागाईँले नै लेखेका हुन् ।नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायाँकन गरिएको सिरियल ‘बाटुली’ मा अभिनेत्री मल्ल सासुको भूमिकामा छिन् भने कलाकार सिपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निर्वाह गरेकी छन् । खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय सिरियलमा देख्न सकिनेछ ।