आज मोतीराम भट्टको जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा  जन्मिएका उनको  १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनि दैवलाई
न मेरै दोष के भनूँ यसलाई

नेपाली भाषामा गजलको प्रारम्भ मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम, नारी सङ्गत र सामीप्ययता पाइन्छ । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।