करिनालाई रिप्लेस गरिन् कंगनाले

अन्ततः कङ्गना रनावत देवी सीताको भूमिकामा देखिने पक्का भएको छ । अलौकिक देसाइ‚ (जसले सीता – एक अवतार’ नामक चलचित्रको निर्देशन गर्दैछन्) चलचित्रमा कङ्गना फाइनल भएकी  हुन्  । कङ्गनाको साथमा एक तस्बिर सार्वजनिक गर्दै अलौकिकले सामाजिक सञ्जालमार्फत् खबर सार्वजनिक गरेका हुन् ।

योसँगै करिना कपूर सीता बन्ने र उनले १२ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेको खबर समाप्त भएको छ ।

अलौकिकले लेखेका छन्‚ ‘सीता – एक आरम्भ, विश्वासका साथ समर्पण गर्नेहरूलाई ब्रह्माण्डले साथ दिनेछ । मृगतृष्णा के थियो अब स्पष्ट हुनेछ । एक पवित्र चरित्रको सपना जुन‚ कहिल्यै खोजिएको थिएन, अब त्यो नै वास्तविकता बनेर आउनेछ । म ‘सीता एक अवतार’मा सीताको रूप कङ्गनालाई अघि सार्ने विषयले उत्साहित छु । यो पवित्र यात्राले हामीले हेर्ने पौराणिक कथामा परिवर्तन ल्याउनेछ ।’

त्यस्तै यस चलचित्रकी निर्माता सलोनी शर्मा भन्छिन्, ‘एक महिलाको हैसियतले, म कङ्गनाको आगमनको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । कङ्गना एक वास्तविक भारतीय महिलाको आत्मा र सारको प्रतीक हुन् । निडर, चुनौतीपूर्ण र साहसी… अब समानताको खुसी मनाउने समय आएको छ ।’

यस चलचित्रका लेखक केवी विजयेन्द्र प्रसादले पहिले नै भनेका थिए कि ‘सीता’को भूमिका निभाउन उनको छनौटमा कङ्गना बाहेक अरू कोही हुन सक्दैन । एजेन्सी