चर्चित गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गर्ने छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, भजन शिरोमणी भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल, स्वर्गिय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् । नायिकामा भने केकी अधिकारी पनि सरकारबाट संविधान दिवसका दिन प्रदान गरिने विभुषणको सुचिमा परेकी छन् । संगीतकार शम्भुजित बाँस्कोटालाई किर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने निर्णय सरकारले गरेको छ । प्रबल जनसेवाश्री पदक कलाकारहरु रमेश वुढाथोकी, दीपाश्री निरौला, हेमन्त वुढाथोकी, नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायकहरु चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, लोकगायिका विष्णु माझी, गीतकार कस्तुप पन्त, गायिका देविका प्रधानलाई प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

जनसेवाश्री पदकबाट भने गायक हेमन्त शर्मा, प्रकाश सपुत, कलाकार केकी अधिकारी, अनमोल केसी, निर्देशक मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर, नृत्यांगना तेरिया मगर, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झा, गायिका राधिका हमाल, हाँस्य कलाकार कमल गाउँले, गायक नविन पौडेल, कलाकार सुजल बमलाई प्रदान गर्ने निर्णय गरिएको छ ।