दशैं नजिकियो, हल ठप्प !

 

काठमाडौं- कोरोना महामारीको प्रभाव सबै क्षेत्रलाई प्रभाव पार्यो यही प्रभावबाट फिल्म क्षेत्र पनि अछुतो भने रहेन । कोभिडले लामो समयसम्म बन्द भएको फिल्महल काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ १६ गतेदेखि फिल्म हल खुलाउन अनुमति  दिएको  थियो ।  तर त्यति बेला नै नेपाल चलचित्र सङ्घले तत्काल फिल्म हलहरू नखोल्ने निर्णय गर्यो ।  नेपालभर हल खोल्ने र फुल अकुपेन्सीमा सञ्चालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने सङ्घ निर्णय भएको हो ।  तर अहिले नेपाली फिल्मलाई लिएर हलवालाहरू अलमल्लमा परेका छन् । नेपाली फिल्मले मात्रै दर्शकलाई हल सम्म तान्न सक्दैन भन्ने एउटा उदाहरण अहिलेको अवस्थाबाट नै बुझन सकिन्छ । धेरै फिल्म वितरक अहिले फिल्म लिएर बसेका छन् तर हलमा कुन फिल्म दिने र हलले कुन फिल्म दिने भन्ने अझै अत्तोपत्तो छैन । विदेशी ठुला ब्यानरका फिल्म रिलिज भए सँगसँगै नेपाली फिल्म चलाउन पाए दर्शकको आगमनसङै नेपाली फिल्मले पनि फड्को मार्ने थियो कि भन्ने हलवाला र निर्माताको आशा छ ।  फिल्महल नखुल्दा सरकारको आँखामा मनोरञ्जन क्षेत्र परेन भनेर सरकारसँग हल खोल्न अनुमति माग्ने हलवालाहरू नै अहिले भने मौन छन् । तत्काल नै हल खोल्नको लागी अक्मक्काई रहेका छन् ।कोरोना भाइरसको प्रकोपका कारण दोस्रो पटक १६ वैशाखदेखि जारी निषेधाज्ञा भदौ दोस्रो सातासम्म आइपुग्दा धेरै हदसम्म खुला भइसकेको थियो । तर, कुनै निर्माता पनि फिल्म प्रदर्शन गर्न तम्सिएनन् ।

पहिलो पटक ११ चैत ०७६ जारी लकडाउन ०७७ को भदौमा अन्य क्षेत्र खुकुलो गरिएको भए पनि सरकारले फिल्म हल सञ्चालनको अनुमति भने दिएको थिएन । त्यतिबेला भने फिल्मकर्मी तथा सम्बन्धित संघसंस्थाले हल खोल्न सरकारलाई दबाब दिएका थिए । हल सञ्चालन अनुमति दिन सरकारले आलटाल गरिरहेको बेलामा अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘यस्तो एउटा प्रेमकहानी’ ! माघदेखि प्रदर्शन गर्ने घोषणा गरे । सरकारले हल खोल्न नदिए पनि आफूहरूले एकतर्फी रूपमा भए पनि हल खोलेर ‘यस्तो एउटा प्रेमकहानी’ चलाउने घोषणा हल सञ्चालकले गरे ।अन्ततः सरकारले पुस अन्तिममा ५० प्रतिशत दर्शक राखेर हल सञ्चालन गर्न पाउने व्यवस्था गर्यो । कतिपयले सरकारको सो निर्णयको स्वागतसमेत गरे । अन्ततः १ माघ ०७७ मा ‘यस्तो एउटा प्रेमकहानी’ प्रदर्शन गरियो । तर, हलमा दर्शकको उपस्थिति भने निकै न्यून हुन पुग्यो । १ माघपछिका सातामा ‘यस्तो एउटा प्रेमकहानी’ पछि तत्कालै अरु नेपाली फिल्म प्रदर्शनमा आएनन् । केही अंग्रेजी र हिन्दी फिल्म भने प्रदर्शन भए ।

२१ फागुनमा अर्को नेपाली फिल्म हलमा प्रदर्शन भयो । फिल्म थियो–‘गोर्खे’ । सो फिल्मले पनि हलमा दर्शक तान्न सकेन । ‘गोर्खे’ को व्यावसायिकता ‘यस्तो एउटा प्रेमकहानी’ भन्दा पनि नाजुक हुन पुग्यो । नयाँ वर्ष र दशै, तिहारमा नेपाली फिल्म प्रदर्शनका लागि निकै प्रतिस्पर्धा हुने गरेको छ । ती ‘डेट’ मा ठूलो ब्यानरका मानिने फिल्महरू पनि जुध्ने गरेका छन् । तर, अपशोच, हल खुले पनि ०७८ को नयाँ वर्ष खान ती ठूला भनी-मानिएका ब्यानरका कुनै फिल्म पनि प्रदर्शनमा आएनन् ।

बरु, निर्देशक एभरेस्ट सूर्य बोहराले लकडाउनकै विषयमा निर्माण गरेको ‘श्री’ र राजबहादुर सानेले ०७१ मा निर्देशन गरेको, तर हलमा आउन नपाएको ‘गुड फ्रेन्ड’ नामक फिल्म २७ चैतमा प्रदर्शनमा आए । ‘श्री’ ले दर्शकको राम्रै प्रतिक्रिया पायो । तर, ‘गुड फ्रेन्ड’ भने कतिपय हलमा एक शोमै उत्रियो ।

यद्यपि, नयाँ वर्ष ०७८ को अवसर पारेर २७ चैतमा दीपक ओली निर्देशित ‘कृष्ण–लीला’, मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ र कैलाश राई निर्देशित ‘मनसँग मन’ प्रदर्शनमा आउने घोषणा गरिएको थियो । ती फिल्मले गीत तथा टिजर र प्रोमोसमेत सार्वजनिक गरेका थिए । तर, तीनवटै फिल्म प्रदर्शन गरिएन ।

‘एकातिर हलमा ५० प्रतिशत मात्र दर्शक राख्नुपर्ने रे, अर्कोतिर कोरोनाको संक्रमण झन् बढ्दै गयो ।  ‘कृष्ण–लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन–२’ २७ चैतमा नआउने भएपछि हतार हतार सो मितिमा ‘श्री’ र ‘गुडफ्रेन्ड’ प्रदर्शन गरिएको थियो । ‘खासमा ‘श्री’ हलमा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएकै होइन,’ निर्देशक बोहरा भन्छन्, ‘तर पनि अरु फिल्म नआउने भएकाले हतार हतारमा प्रदर्शन गरिएको थियो । दर्शकको सकारात्मक प्रतिक्रियाले मलाई यस्तै प्रयोगात्मक फिल्म बनाउने प्रेरणा मिलेको छ ।’

करिब ७२ घन्टामा सुटिङ सकाइएको ‘श्री’ तेस्रो सातामा प्रदर्शन हुँदै गर्दा १६ वैशाखदेखि सरकारले दोस्रो चरणको लकडाउन जारी गर्यो ।  पहिलो लकडाउन खुलेपछि फिल्म निर्माता तथा हल सञ्चालकहरू फिल्म प्रदर्शन गर्न आतुर भएका थिए । उनीहरूले अन्य झै फिल्म क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो हुनेवित्तिकै करिब एक दर्जन फिल्म छायांकन पनि भए । तर, जब दोस्रो पटक लकडाउन भयो र गत भदौ मध्यमा हल खोल्ने अनुमति पनि मिल्यो, तर अहिले फिल्म प्रदर्शन तथा निर्माण गर्न निर्माता, हल सञ्चालक तातेका छैनन् ।

‘जबसम्म सरकारले हलमा पूर्णरूपमा दर्शक राख्न दिने व्यवस्था गर्दैन, तबसम्म फिल्म रिलिज गरेर अर्थै नभएको हलवाला बताउँछन् , ‘स्थिति सामान्य भयो भने पनि फिल्म चल्ने माहोल बन्न एक डेढ वर्ष नै लाग्न सक्छ ।’

प्रदर्शन रोकिएका ४६ फिल्म

म यस्तो गीत गाउँछु–२,  घनचक्कर,  माया बस्छ कि के हो,  उल्झन,  पोखराकी काली,  प्रेमगीत–३,  मन्त्र,  हली, हिजोआजका कुरा,  लक्का जवान,  मेरो आफ्नो,  आकाशे खेती, शिरफूल,  उफ् यो मन,  षट्कोण,  नालापानी,  आरुषी, १८। यो माया कस्तो माया, पानी फोटो,माइकल अधिकारी,कठपुतली,  देवी,  फेक फ्रेन्ड, सम्झना बिर्सना,  सुस्केरा, तु।, चालबाज, सायाबुङ,  आप्लेङ,  हाम्रो कलेज लाइफ,  पर्खी बसे फर्की आउँछु,  दुस्साहस, ठूलो माछा,  सम्हाली राख है,  गीत गजल,  शिवानी,  इन्काउन्टर, नीरफूल,  चिसो एस्ट्रे, बद्री बहादुर, वडा अध्यक्ष,  चपली हाइट–३, जारी,  लप्पन छप्पन–२,  निम्तो र  लै बरी लै माथिका नामको फिल्म त  बोर्डमा पुगेका मात्र हुन् अझै धेरै फिल्म छन् कुनै काम हुदा हुदैँ रोकिए भने कोही बन्दै छन् ।

कसले गर्ला फिल्म रिलिज ?

कोरोनाअघि विशेष गरी नयाँ वर्ष, दशैं, तिहार, माघे संक्रान्ति र शिवरात्रीको छेकोमा आफ्नो फिल्म प्रदर्शन गर्न निर्माताहरू लालायित हुन्थे । एकै साता चारवटासम्म नयाँ नेपाली फिल्म भिड्ने गर्दथे । तर, कोरोनाका कारण अहिले स्थिति निकै फरक छ । अहिले ५० प्रतिशत दर्शक राखेर हल चलाउन पाउने अनुमति पाए पनि यो दशैं तथा तिहारमा समेत ठूलो ब्यानर तथा लगानीका मानिने कुनै फिल्म पनि प्रदर्शनमा नआउने भएका छन् ।

‘एक त सरकारले अझैसम्म पनि उपत्यकाबाहिर हल सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसमाथि उपत्यकामा पनि ५० प्रतिशत दर्शक राखेर चलाउनुपर्ने रे, यस्तोमा करोडौ लगानीका फिल्म प्रदर्शन गर्ने मूर्खता कसले गर्छ ?,’ वितरकको भनाई छ ।

दशैंमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’

वितरक कट्टेलले यो दशैमा आफ्नो कम्पनी आरआर फिल्मले ‘धन्दागिरी’ नामक फिल्म प्रदर्शन गर्न लागेका छन् ।  त्यसो त दशैंमै शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको वरपीपल’ पनि प्रदर्शनको तयारीमा रहेको छ । बुढासुब्बा डिजिटलले निर्माण गरेको यो फिल्म खासमा बुढासुब्बाकै युट्युब च्यानल तथा बिएम एचडी टिभीका लागि निर्माण गरिएको हो । ओटिटी प्लेटफर्म र टिभीमा मात्र प्रदर्शन गर्न निर्माण गरिएको भए पनि अब भने यो फिल्म दशैंको अवसरमा २६ असोजमा खुलेका हलमा समेत प्रदर्शन गरिने छ । त्यसो त निर्देशक बस्नेतले गत वर्षको दशैंअघि पनि बुढा सुब्बा डिजिटलकै लगानीमा ‘लक्ष्मीपूजा’ नामक फिल्म निर्देशन गरेका थिए । त्यतिबेला पनि हल खुलेमा हलमा समेत लगाउने तयारी थियो । तर, हल खुलेन । ‘लक्ष्मीपूजा’ टिभी र ओटिटीमार्फत दर्शकमाझ पुग्यो ।

प्रदर्शन मिति तोक्ने सकस

कोरोनाअघि, छक्का पन्जा–४, अशोक शर्माको अल्लारे–२, रेनेशा वान्तवा राईको आइएम २१, झरना थापाको ए मेरो हजुर–४, छविराज ओझाको नयाँ फिल्मलगायतले ०७७ को दशैमा प्रदर्शन हुने घोषणा गरेका थिए । तर कोरोनाका कारण सबै बन्द भयो । अब भने जनजीवन सामान्य हुँदै जाँदा ठूला भनिने फिल्मले प्रदर्शन मिति तोक्दै गइरहेका छन् ।

पहिला, अघिल्लो वर्षको २७ चैतमा प्रदर्शन हुने तयारीमा रहेको ‘लप्पन छप्पन–२’ ले अगामी १३ फागुन अर्थात् शिवरात्रीको छेकोमा प्रदर्शन हुने घोषणा गरेको छ । त्यसैगरी, झरना थापाको ए मेरो हजुर–४ ले केही दिनअघि मात्रै प्रदर्शन मिति घोषणा गर्यो ।

अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको सो फिल्म नयाँ वर्ष ०७९ को अवसरमा २८ चैतमा प्रदर्शन हुनेछ । अन्य फिल्महरूले प्रदर्शन मिति तय गर्न क्यालेन्डर पल्टाइरहेको भए तापनि स्थिति कस्तो होला भन्ने त्रासले मिति घोषणा गर्न सकिरहेका छैनन् ।