‘कालो कोट’ मा फेरि सहकार्य गर्दै रोहित र दीपक–दीपा समूह, सौगात मल्ल भिलेनको भूमिकामा

काठमाडौं- दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’मा सहकार्य गरेका निर्माता रोहित अधिकारीले दीपक राज गिरी र दीपाश्री निरौलाको समूहसँगै मिलेर अर्को फिल्म बनाउने तयारी गरेका छन् । ‘छ माया छपक्कै’को दोस्रो शृंखला बनाउने हल्ला चले पनि रोहितले ‘कालो कोट’ शीर्षकमा फिल्म बनाउन लागेका हुन् । हाल अहिले यो फिल्मको लेखन र कास्टिङ एकसाथ चलिरहेको छ ।

निर्माण सम्बद्ध स्रोतका अनुसार ‘सोसल–कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई लिने सोच बनाएको छ । फिल्ममा सौगात भिलेनको रुपमा देखिनेछन् । सौगातले यो भूमिका स्वीकार गरे, सौगात फिल्ममा दोस्रो पटक भिलेनको रुपमा पर्दामा देखिनेछन् । अनमोल केसीको मुख्य भूमिका रहेको ‘एक्स ९’मा पनि सौगात नकारात्मक भूमिकामा देखिने चर्चा छ ।

निर्माण टिमले फिल्मको निर्देशक भने टुंग्याइसकेको छैन । तर निर्देशकमा सिमोस सुनुवारको पल्ला भारी रहेको स्रोत बताउँछ । दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएको हुँदा त्यो नामबाहेक फिल्ममा नयाँ निर्देशक रहने देखिन्छ ।

यसअघि ‘छ माया छपक्कै’ पनि दीपेन्द्र लामाले निर्देशन गरेका थिए । फिल्ममा दीपक–दीपाको समूहबाट दीपक–दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने पनि स्रोत बताउँछ । यसअघि समूहमा रहेर काम गर्दै आएका जितु नेपाल यो फिल्ममा रहने छैनन् ।

जितुले पनि समूहभन्दा बाहिर रहेर गर्ने गरी साम्राज्ञीराज्य लक्ष्मी शाहसँग अर्को फिल्मको सम्झौता गरिसकेका छन् । महामारीले दुःख नदिए तिहारपछि सुटिङमा जाने रोहित र दीपक–दीपा समूहको तयारी छ । फिल्ममा तीन अभिनेत्री रहनेछन् । यसका लागि पनि उनीहरूले स्थापित हिरोइनसँग कुरा गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले चाडपर्वको छेकोमा सम्भावित लहर आउने प्रक्षेपण गरिसकेको छ । यो फिल्ममा तीन अभिनेत्री रहने र उनीहरुसँग अनुबन्धनबारे छलफल भैरहेको जनाइएको छ ।