लघुचलचित्र ‘छोरी’ तयार

काठमाडौँ- लघुचलचित्र ‘छोरी’ बनेर तयार भएको छ । दशैँ छेको पारेर डिजिटल प्रविधिबाट लघुचलचित्र प्रदर्शन हुनेछ । अमेरिकामा भौतिक सम्पत्ति प्रशस्त भएर पनि दसैँ, तिहार, तिजजस्ता नेपाली चाडपर्व मनाउन नपाएकी एउटी छोरी र नेपालमा रहेर धनसम्पत्ति प्रशस्त भएर पनि आफन्त परिवार  र आफ्नो सन्तान आफूसँग नभएको बाबुको पीडामाथि केन्द्रित रहेर चलचित्र ‘छोरी’ निर्माण भएको छ ।

१५ मिनेटको चलचित्रलाई सुरेन्द्र थापाले प्रस्तुत गरेका छन् भने निर्माता सुवासप्रसाद पाण्डे र कार्यकारी निर्मातामा नमराज भण्डारी रहेका छन् ।

चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघुचलचित्रमा रहेको छ । चलचित्रमा वसन्त पोख्रेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापालगायत कलाकारहरूले अभिनय गरेका छन् ।