सुनिल शेट्टी नेपाली फिल्ममा, कस्तो रहला भूमिका ?

एजेन्सी – बलिउड अभिनेता सुनिल सेट्टी अब नेपाली चलचित्रमा देखिने भएका छन् । उनी मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स नाइन’ मार्फत् नेपाली चलचित्रमा देखिन लागेका हुन् । चलचित्रका निर्देशक भट्टले सामाजिक सञ्जालमा सेट्टीलाई ‘एक्स नाइन’ टिममा स्वागत गरेका छन् । उनले यो खुसी चाँडै नै बृहत रूपमा घोषणा गर्ने समेत बताएका छन् । उनले लेखेका छन्, ‘तपाईंसँग निर्देशकको रूपमा काम गर्न पाउँदा खुसी छु । स्वागत छ नेपालमा ।’

निर्देशक भट्टको निर्देशनमा निर्माण तयारी गरेको यो चलचित्र आगामी वर्षको दसैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ । चलचित्रका लागि सुनिलले १० दिन सुटिङमा समय दिनेछन् । उनको पार्टको केही अंश नेपालमा र केही अंश स्कटल्याण्डमा छायांकन हुने बताइएको छ ।

निर्देशक भट्टले बुधबार मात्रै फेसबुकमा एक स्टाटस लेख्दै सुनिल चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् । हामीकहाँ कलाकारको स्टारडमलाई दाउमा राख्ने प्रवृत्ति जारी छ । फलानो हिरो वा हिरोइनलाई लिएमा चलचित्र बबाल चल्छ भन्ने मानसिकता छ । यही मानसिकताको कारण अनमोल केसीहरुको भाउ आकासिएको छ । अझ, बलिउडकर्मीलाई तान्न सकिए चलचित्रले तहल्का मच्याउँछ भन्ने सोंच हावी देखिन्छ । यसअगाडि पनि नेपाली चलचित्रमा बलिउड कलाकारले अभिनय नगरेका होइनन् । दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम नृत्य गरेकी थिइन् । सन्नीका कारण पनि प्रदर्शनअगाडि निकै चर्चामा रहेको यो चलचित्रले हलमा भने अपेक्षित दर्शक तान्न सकेन् । न त, चलचित्रको नै चर्चा भयो ।

एकताका मनिषा कोइराला बलिउडमा चम्किएकी थिइन् । शाहरुख, सलमान, आमिर जस्ता खानदेखि अनिल कपूर, अजय देवगण जस्ता अधिकांश सुपरस्टारसँग उनले काम गरिन् । उनै मनिषालाई दीपेन्द्र के. खनालले नेपाली चलचित्र ‘धर्मा’मा प्रवेश गराए । तर, अपेक्षाकृत यो चलचित्र चलेन ।

सुनिल सेट्टी भलै बलिउड स्टार हुन् । तर, उनको स्टारडमले चलचित्र चल्छ भन्नेमा ढुक्क हुन सकिदैन । सुनिल सेट्टीको के कुरा, शाहरुख, सलमान जस्ता सुपरस्टारकै भरमा पनि चलचित्र चलेका छैनन् । यसका लागि धेरै गहिरिएर सोँचिरहनु पर्दैन । पछिल्लो पटक प्रदर्शन भएका हिन्दी चलचित्रहरुकै जोडघटाउ केलाए पुग्छ । बरु, त्यस्तो स्टारडम नभएका आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता अभिनेताहरुको चलचित्रहरुले धमाधम बजार कब्जा गरिरहेका छन् । यसले के पुष्टि गरिरहेको छ भने दर्शकहरु चलचित्रमा अनुहार होइन त्यसको कन्टेन्ट र प्रस्तुतीमा आकर्षित हुन्छन् ।

चलचित्रमा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, राज कटवाल, प्रियंका थापा, पुष्प खड्का लगायतका कलाकारले अभिनय गर्नेछन् । एक्सन जनरामा बन्न लागेको यो चलचित्रमा अनमोल एक्सन स्टारका रूपमा देखिने छन् ।चलचित्रको छायांकन तिहारपछि सुरु हुने छ । यो चलचित्रमा सुनिल खलनायकको भूमिकामा देखिने बताइएको छ ।