अनमोल यसकारण भए मांसाहारी

 

नायक अनमोल केसी शाकाहारी हुन् । उनले माछा–मासु छाडेको करिब ६ बर्ष भयो । अनमोलको परिवारका सबै जना मासु प्रेमी भएकाले पनि उनले सानैबाट मासु खाएका थिए । तर, चलचित्र ‘गाजलु’मा काम गरेपछि भने अनमोलले मासु खान छाडे । तर, केही समयदेखि अनमोल कुखुराको मासु खाइरहेका छन् । शाकाहारी अनमोललाई मासु खान सहज भने भएन । तर, अनमोल भन्छन्–‘कर्म नै सबैभन्दा ठूलो धर्म रहेछ । कामकै कारण ६ बर्ष अगाडि छाडेको मासु मैले खाइरहेको छु ।’

अनमोल चलचित्र ‘एक्स ९’मा काम गर्दैछन् । यो चलचित्रका लागि उनले २० केजी तौल बढाउनुपर्नेछ । निर्माण टिमले उनलाई ४ महिनाको मात्र समय दिएको थियो । यसका लागि अनमोललाई निर्माण टिम र उनको जीम ट्रेनरले २ वटा उपाउ सुझाए । कि त नन भेज खानुपर्ने वा सप्लिमेन्ट्रीहरु प्रयोग गर्नुपर्ने । अनमोलले केही समयका लागि मांसहारी नै हुने निर्णय गरे । अनमोल भन्छन्–‘अहिले मैले चिकेन खाइरहेको छु । हुन त, शाकाहारी भोजनबाट पनि तौल बढाउन नसकिने होइन । तर, मसँग निर्माण टिमले दिएको ४ महिना मात्र भएकाले मासु नै खाने निर्णय गरेको हुँ ।’

अनमोल अब फेरि शाकाहारी नै हुन्छन् कि मासांहारी नै रहन्छन् त ?भन्छन्–‘अहिले मैले चलचित्रका लागि मासु खान थालेको हुँ । तर, यो चलचित्रको छायांकन सकिएको दिनदेखि नै म मासु छाड्छु ।’ यो चलचित्रको छायांकन फ्रेबुअरीबाट सुरु गर्ने तयारी निर्देशक मुकुन्द भट्टको छ । चलचित्रमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, राज कटुवालको साथमा बलिउड नायक सुनिल सेट्टीको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन नेपालसँगै विश्वका विभिन्न देशमा हुनेछ ।