टिकटक विरोधी वर्षा किन बन्दै छिन् टिकटक स्टारको निर्णायक ?

 

काठमाडौं- बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा टिकटकको बिरोध गर्ने अभिनेत्री वर्षा सिवाकोटी नि पनि सोही कार्यक्रममा उपस्थित थिइन् । वर्षा सिवाकोटी चलचित्रको पर्दामा देखिने कलाकारले टिकटक चलाएर सस्तो बन्न नहुने अभिव्यक्ति दिन्थिन् । अहिले भने उनी ‘शिखर टिकटक स्टार’को निर्णायक बन्दैछिन् ।पत्रकारहरुको प्रश्नमा वर्षा भन्छिन्, ‘म आफू पनि एकदमै रिजर्भ बस्न चाहने कलाकार हुँ । हाम्रो जे कुरालाई पनि चाँडै नै स्वीकार गर्ने र त्यसलाई धेरै प्रयोग गर्ने बानी छ । अझ हामी कलाकारहरुको काम स्वयम् हलमा गएर हेर्दा क्रेज पनि बढ्छ भन्ने सोच मेरो हो । तर, समय अनुसार सबै कुरा परिवर्तन भयो । अहिले सबै कुराको प्रमोसनको प्लेटफर्म टिकटक बनेको छ ।’

वर्षाले कुनै कार्यक्रममा जाँदा वा दर्शकसँग भेट्दा टिकटक बनाउन भने असहज हुने बताइन् । ‘हामी ठूलो क्यामेरा र त्यसको क्यानभासमा काम गरिरहेका कलाकारलाई कसैले मोबाइल अगाडि सारेर टिकटक बनाउनका लागि आग्रह गर्दा भने असहज लाग्ने रहेछ,’ उनले भनिन्, ‘म घरमा कोठाभित्र एक्लै टिकटक बनाउन सक्छु । तर, यो सबैको आफ्नो सोचेको कुरा पनि भयो ।’ टिकटकलाई कलाकारले सही तरिकाले प्रयोग गर्न सक्नुपर्ने वर्षाको भनाइ छ । उनले अगाडि भनिन्, ‘कलाकारले ब्राण्डको प्रमोसन हिजोआज टिकटकबाट पनि गर्नुपर्छ ।

यो क्षेत्रमा आफ्नै नियम र तरिकाले काम गर्छु भनेर पनि नहुने रहेछ । टिकटकलाई एउटा सकारात्मक तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ ।’ अहिले वर्षा टिकटकमा पनि सक्रिय देखिन्छिन् । उनले टिकटक बनाएको लामो समय भइसकेको छ । कार्यक्रमको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल, वर्षा शिवाकोटी र अभिनेता रमेश उप्रेती रहेका छन् । शोमा उत्कृष्ट १० जनाले क्रमशः कार, मोटरसाइकल, स्कुटर, क्यामेरा, ल्यापटप, टेलिभिजन, सातौँ, आठौँ, नवौँ र दशैँले मोबाइल पाउनेछन् । टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नुपर्नेछ ।