गायक जस्टिन बिबरलाई साउदीको कन्सर्टमा सहभागी नहुन आग्रह

 

इस्तानबुलमा मारिएका पत्रकार जमाल खसोगीकी ‘फियोन्से’ले क्यानेडियन गायक जस्टिन बिबरलाई साउदी अरेबियामा हुन लागेको कन्सर्टमा सहभागी नहुन आग्रह गरेकी छिन् । बिबर धेरै कलाकारमध्ये एक हुन् जो  साउदीमा हुन गइरहेको फस्ट फर्मुला वन ग्रान्ड प्रिक्समा कन्सर्ट गर्दैछन् ।

खसोगीकी ‘फियोन्से’ हाटिस केन्जिगले खुल्ला पत्र लेख्दै कन्सर्टबाट हात झिकेर दरिलो सन्देश दिन आग्रह गरेकी हुन् । साउदी सरकारका कटु आलोचक खसोगीको सन् २०१८ मा इस्तानबुलमा हत्या गरिएको थियो ।  ‘मेरो प्रिय जमालका हत्याराका लागि नगाऊ बिबर,’ हाटिसले लेखेको पत्रमा आग्रह गरेकी छिन् । वासिङटन पोस्टले छापेको पत्रमा उनले जस्टिनका अघि आफ्नो आलोचकलाई मार्ने शासकलाई पाठ पढाउने सुनौलो मौका रहेको बताएकी छिन् ।

बिबरले आउँदो डिसेम्बर ५ मा साउदीमा कन्सर्ट गर्ने कार्यक्रम छ । ह्युमन राइट वाचले पनि कन्सर्ट साउदीको मानव अधिकारका मुद्दालाई विषयान्तर गर्ने उद्देश्यले प्रेरित रहेको भन्दै त्यो कन्सर्ट रद्द गर्न आग्रह गरेको छ । अमेरिकाले जमालको हत्यामा साउदी शाषक मोहम्मद बिन सलमानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ । विरोधका कारण यसअघि निक्की मिनाजले पनि साउदीमा हुन लागेको कन्सर्ट रद्द गरेकी थिइन् । -बलिउड हगांमा