‘फिल्म टुल्की’ ले पायो यूनिभर्सल सर्टिफिकेट

 

काठमाडौं– नेपाल सरकारअन्तर्गत रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि सबै उमेरका दर्शकका लागि हेर्न मिल्ने ‘यू-युनिभर्सल’ सर्टिफिकेट दिएको हो ।

द पाल्म ग्रुपको ब्यानरमा शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ । देवजंग थापाको छायांकन तथा निर्देशन रहेको फिल्ममा लक्ष्मण सुनारको कथा र आरपी कर्माचार्य तथा शेखर लामाको लगानी छ । निर्देशक थापाका अनुसार ब्राम्हण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई फिल्ममा देखाइएको छ ।