पुष १५ मा फिल्म ‘कठपुतली’ आउने

 

काठमाडौं-  फिल्म ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । कोरोना संक्रमण कम भएसँगै नेपाली निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सुर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ । तिहारयता आधा दर्जन ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसबीच, हरर फिल्म ‘कठपुतली’ ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १५ गते अर्थात् डिसेम्बर ३० तारिखबाट रिलिज हुने भएको छ ।

तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै फिल्म प्रदर्शन गर्न लागेको हो । सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भिमसेन लामा हुन् । हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । यो फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।