मृत्युको झुटो चर्चाले ‘मिस्टर बिन’ चिन्तित

 

लसएञ्जल्स- सामाजिक सञ्जालमा मंगलबार बिहान ‘मिस्टर बीन’का रुपमा विश्वमाझ चिनिएका हलिउड हास्यअभिनेता रोवन एटकिन्सनको निधन भएको खबर एकाएक भाइरल भयो । यी अभिनेताको मृत्युको खबर भाइरल भएपछि सत्य कुरा नबुझी धेरैले उनलाई श्रद्धाञ्जली नै दिए । रोवन सामाजिक सञ्जालमा ट्रेण्डिङमै परे ।

अमेरिकी न्यूज च्यानल फक्सन्यूजको ट्विटर हेण्डल भनी दाबी गर्ने फेक एकाउण्टबाट उनको निधनको खबर सामाजिक सञ्जालमा आएको थियो । यो फर्जी ट्वीटर हेण्डलको ट्वीटमा एक स्पाम लिंक पनि राखिएको थियो । रोवनका फ्यानहरुले भावुक भएर यो लिंकमा क्लिक गरेपछि मानिसहरु फेक समाचारको शिकार बनेका थिए ।

ट्वीटरमा ‘मिष्टर बीनको ५८ वर्षको उमेरमा कार दुर्घटनामा निधन’ भन्ने समाचार राखिएको थियो । जबकी उनको अहिलेको उमेर ६६ हो ।वास्तविकतामा भने रोवन जीवित छन् र उनी स्वस्थ छन् । आफ्नो बारेमा गलत समाचार सार्वजनिक भएपछि रोवन चिन्तित छन् । मिस्टर बीन’को भूमिका टेलिभिजनमा पहिलोपटक सन् १९९० मा देखाइएको थियो । उनी सन् १९९० देखि १९९५ को बीचमा ब्रिटिस कमिक शोमा सर्वाधिक रुचाइएका चरित्र थिए । सन् २०१६ मा फेसबुकमा ‘रीप रोवन एटकिन्सन’ पेज बनाएर अभिनेता सन फ्रान्सिस्कोमा अचेत अवस्थामा भेटिएको लेखिएको थियो ।