‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार भन्छन्- फिल्म हेर्न जाने दर्शकलाई नभड्काइयोस् !

 

 

 

काठमाडौं- कोरोना महामारीको चपेटाबाट फिल्महल विस्तारै चलायमान हुदैँछ । चलचित्र विकास बोर्डले नेपाली फिल्म निर्माताहरूलाई आफ्ना चलचित्र प्रदर्शन गर्न आदेश दिएसंगै काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय भएको थियो । बोर्डको यो निर्णयले फिल्मकर्मी पनि उत्साहित भएका थिए । तर निर्मार्ताहरुले भने यसरी हलमा फिल्म लगाएर जोखिम मोल्न चाहेनन् । उपत्यकामा मात्र ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न दिने निर्णय व्यवहारिक छैन । यसैले, देशभरका हल शत प्रतिशत अकुपेन्सीमा सञ्चालनमा नआएसम्म हल नखोल्ने निर्णय पनि गरे । तर दशैपछि भने राम्रोसंग नै फिल्महलको चलायामन हुन थाल्यो ।

तिहारको अवसर पारेर बलिउड फिल्म ‘सूर्यवंशी’हलमा लाग्यो । सनाटा लागेको हलमा दर्शकहरु ओहिरिए । सबैले फिल्मको तारिफ गरे । माहोल बनाउन बलिउड फिल्म कुरेर बसे निर्माताहरु । ‘सूर्यबंशी’पछि नेपाली निर्माताहरुले पनि धमाधम आफ्ना फिल्म प्रदर्शनको मिति घोषणा गरे । पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भएर प्रदर्शनको पालो पर्खिरहेकादेखि लकडाउनपछि निर्माण भएका फिल्मको संख्या ५ दर्जन हाराहारीमा छ । तर, अहिलेसम्म ‘चुरीफुरी, ए मेरो हजुर ४, लप्पन छप्पन २ र चिसो मान्छे’का लगायतका फिल्महरुको मिति तय भएका छन् । यहि क्रममा निर्माता अर्जुन कुमारले पुस १७ मा आफ्नो चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन गर्ने घोषणा गरे । यहि मितिमा साउथ फिल्म ‘पुष्पा’ पनि रिलिज हुने भयो । हिजो माहोल बनाएको भनेर बलिउड फिल्मको प्रशंसा गरिरहेका नेपाली निर्माता आक्रोशित भए । आफूले लिएको प्रदर्शन मितिमा बलिउड सिनेमा पनि लाग्ने भएपछि अर्जुनकुमार निक्कै आक्रोशित देखिएका छन् । उनले आक्रोशित हुँदै फेसबुकबाटै नेपाली फिल्मलाई नहेप्न चेतावनी दिएका छन् ।

नेपाली फिल्म उद्योग चलायमान बनाउन आफूले पुस २ मा ‘चपली हाइट ३’ रिलिज गर्न लागेको दाबी गरेका अर्जुनले विदेशी फिल्म नेपाल भित्र्याएर आफू विरुद्ध चलखेल गरेको आरोप लगाए । ‘म नेपाली फिल्म चल्नुपर्छ, निर्माता बच्नुपर्छ भनेर रिक्स मोलेर फिल्मी माहोल फर्काउन फिल्म रिलिज गर्न लागेको छु’ अर्जुन कुमारले गुनासो गरेका छन्, ‘हाम्रै नेपाली फिल्मका वितरक मेरो फिल्मसँग जुधाउन हिन्दी फिल्म ल्याउँछन् ।’ केही रकमको लोभमा नेपाली फिल्म विरुद्ध लाग्नेलाई सबै निर्माताले मिलेर तह लगाउनु पर्ने अर्जुन कुमारको भनाइ रहेको छ ।

अर्जुन कुमारले सबै नेपाली फिल्म निर्माता एक भएर भारतीय फिल्मका विरुद्धमा लाग्नु पर्ने समेत बताएका छन् । नेपाली फिल्म उद्योगलाई चलायमान बनाउन आफ्नो फिल्म प्रदर्शन गर्ने तयारीमा रहेका बेला विदेशी फिल्म ल्याएर आफू विरुद्ध चलखेल गरेको आरोप उनले लगाएका छन् । उनले भने – नेपाली फिल्म क्षेत्र एउटा कोरोना चपेटाबाट बाहिर निस्कदैं छौँ सबैजनाले नेपाली फिल्मलाई माया गर्नुपर्छ सबैले फिल्म हेर्नुहोला भनेर आग्रह गरेका छन् ।