कट्रिनाको विवाहका लागि हरेक दिन नयाँ सर्तका कारण अतिथि हैरान !

 

मुम्बई- बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता बिक्की कौशलको विवाहको तयारी अहिले धुमधामले चलिरहेको छ। डिसेम्बर ७, ८ र ९ तारिखमा हुने विवाहका लागि होटल बुकिङ, सजावट, अतिथिका लागि खानाको परिकार र अतिथिहरूको अन्तिम नामावली पनि तयार भइसकेको छ। विवाह कार्यक्रमलाई गोप्य राख्न हरेक दिन नयाँ नयाँ नियम बनाइएको छ। ती नियमहरूका बारेमा अतिथिहरूलाई पनि जानकारी गराउने गरिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार हरेक दिन जानकारी गराइने नयाँ नयाँ नियमका कारण अतिथिहरू पनि हैरान हुन थालेका छन्। कट्रिना–बिक्कीको विवाहमा सहभागी हुन लागेका एक अतिथिले ‘बलिउड लाइफ’लाई दिएको जानकारी अनुसार विवाह व्यवस्थापन समूहले हरेक दिन नयाँ नयाँ नियम पठाउने गरेको छ। ‘कट्रिना र बिक्की आफ्नो विवाहलाई कति गोप्य राख्न चाहन्छन् भन्ने कुरा व्यवस्थापनमा खटिएका व्यक्तिहरूको व्यस्तताबाट पनि बुझ्न सकिन्छ’, ती व्यक्तिले भने, ‘हरेक दिन नयाँ नयाँ नियम र सर्त आउँछ। एउटा विवाहलाई यति गोप्य राख्नुको कारण भने बुझ्न सकिएन।’

उनले कतिपय नियम र सर्त व्यक्तिगत मर्यादामा आँच पुर्याउनुका साथै अपमानजनक पनि रहेको दाबी गरे। ‘उनीहरू आफ्नो अतिथिमाथि भरोसा गर्न सक्तैनन् र यो गर र त्यो गर भन्छन् भने हामीलाई बोलाउनु नै किन ?’, उनले प्रश्न गर्दै भने, ‘यसले हाम्रो मर्यादामा पनि आँच पुर्याएको छ।’ इन्डिया टुडेका अनुसार विवाहमा सहभागीहरूले उनीहरूको सर्त र नियम मान्ने मात्रै होइन, ती नियम अक्षरसः पालनाका लागि सम्झौतामा हस्ताक्षर नै गर्नुपर्ने हुन्छ।

अतिथिहरूलाई विवाहका बारेमा कसैसँग पनि कुरा गर्न नपाइने, तस्बिर खिच्न नपाइने, तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्न नपाइने, विवाह हुने स्थान र आफू बसेको स्थानको जानकारी गोप्य राख्नुपर्ने, मोबाइल फोनको प्रयोग गर्न नपाइनेलगायतका सर्त राखिएको छ। विवाहमा चर्चित क्रिकेटर विराट कोहली र उनकी नायिका श्रीमती अनुष्का शर्मालाई विशेष आमन्त्रण गरिएको छ। विराट र अनुष्कासँगै उनीहरूकी छोरी वामिकालाई पनि विवाहमा निमन्त्रणा गरिएको छ। कट्रिनाको अनुष्का शर्मासँगको विशेष सम्बन्धका कारण परिवारलाई विशेष आमन्त्रण गरिएको छ । एजेन्सी