हार्डी भन्छन्- मैले रणवीरसँग काम गर्दा जति रमाइलो गरेको छु !

 

 

अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको आगामी फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज हुँदैछ । कबीर खानद्वारा निर्देशित ८३, सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको ऐतिहासिक जितमा आधारित छ । यस फिल्ममा रणवीर सिंह क्रिकेट टिमका क्याप्टेन कपिल देवको भूमिकामा छन् भने दीपिका पादुकोण कपिल देवकी पत्नी रोमी भाटियाको भूमिकामा छिन् ।

फिल्म गायक तथा अभिनेता हार्डी सन्धु पनि क्रिकेटर मदन लालको भूमिकामा देखिनेछन् । दैनिक भास्करसँगको कुराकानीमा हार्डी सन्धुले ‘८३’ को चरित्र र चर्चित गीत ‘बिजली-बिजली’बारे बताएका छन् ।

‘८३’ मा मदनलालको भूमिकामा तपाईँलाई ल्याउन कतिको सहज थियो? कति अप्ठ्यारा झेल्न पर्यो ?
‘मलाई बाल्यकालदेखि नै क्रिकेट मन पर्ने ।  त्यसैले मदनलालको बलिङ एक्सनसँग तालमा ताल मिलाउन मलाई केही सजिलो भयो । किनभने म पहिले पनि क्रिकेट खेल्दा फास्ट बलर बनेर खेल्ने गरेको थिएँ। क्रिकेट खेल्न बरु सजिलो थियो । तर उनको बोलचाल शैली र शारीरिक भाषाबारे ज्ञान पाउन धेरै अध्ययन गर्नुपर्यो ।

यो चलचित्रमा कसरी जोडिनुभयो ?
मैले कबीर खान र बलविन्दर सन्धुलाई चण्डी गढमा भेटेको थिए । त्यहाँ हामीले क्रिकेटको बारेमा धेरै कुरा गर्यौँ । यही क्रममा मलाई मदनलालको फास्ट बलिङ एक्सन गर्न सकिन्छ कि सकिँदैन भनेर सोधियो । त्यसपछि मैले उहाँलाई बलिङको अभ्यास गर्दाको भिडिओ पठाएँ । तर लामो समयसम्म कुनै प्रतिक्रिया आएन । लामै समयपछि एक दिन अचानक मलाई रिप्लाई आयो र म ‘८३’ को एक हिस्सा बनेँ । मदनलालजी एनसीबी क्याम्पमा एक समयमा मेरो प्रशिक्षक हुनुहुन्थ्यो ।

अभिनेता रणवीरसँगको काम कस्तो रह्यो ?
मैले रणवीरसँग काम गर्दा जति रमाइलो गरेको छु, त्यति नै उहाँबाट सिकेको छु । उहाँ धेरै मेहनति हुनुहुन्छ र सबैभन्दा राम्रो पक्ष यो हो कि उहाँ शान्त रूपमा प्रस्तुत हुनुहुन्छ । छायाङ्कनमा सबैभन्दा अविस्मरणीय कुरा त हामीलाई अभिनेताको रुपमा भन्दा पनि खेलाडीको रूपमा व्यवहार गरिएको थियो । त्यहाँ धेरै कडा नियमहरू थिए । जस्तैः यदि बस छुट्ने समय ८ बजे हो भने ८ बजे नै तयार हुनुपर्थ्यो ।  किनभने ८:०५ मा बस छुटिसक्थ्यो ।

भर्खरै तपाईँको ‘बिजली-बिजली’ गीत सार्वजनिक भएको छ । यसको विषयमा केही बताउनुहुन्छ ?
‘बिजली बिजली’को अडिओ धेरै अघि तयार भएको थियो । तर‚ लकडाउनका कारण भिडिओ छायाङ्कनमा ढिलाइ भएको थियो । उडान सुरु भएर आवतजावत सुरु भएपछि हामीले यो गीत रुसमा एक महिनासम्म खिच्यौँ । छायाङ्कनको समयमा अत्यधिक चिसो । हाम्रो भेसभुसा पनि यस्तो थियो कि हामीले न्यानो लुगा लगाउन पनि पाएनौँ ।

पलक तिवारीको पहिलो काम थियो, उनीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
भिडिओ हेर्दा कसैलाई पनि ‘बिजली बिजली’ पलकको डेब्यू हो जस्तो लाग्दैन । उनी सेटमा धेरै प्रोफेसनल थिइन् र उनीसँग काम गर्न धेरै सजिलो थियो । उनी कामलाई धेरै गम्भीरताका साथ लिन्छिन् । त्यसैले नै उनी नयाँ हुन् भन्ने महसुस नै भएन ।

‘बिजली–बिजली’ को आइडिया कहाँबाट आयो र यति लामो समयपछि यो गीत किन ल्याउनुभयो ?
हाम्रो स्टुडिओमा दुईवटा कोठा छन्- एउटा रेकर्डिङ गर्नका लागि र अर्को आराम गर्नका लागि । एक दिन बी प्राक, जानी र दुई सङ्गीतकार हनी र बनी रेकर्डिङ रुममा थिए । त्यसपछि उनले गितार बजाए । बी प्राकले त्यसमा बिट राखे । त्यो सुन्नेबित्तिकै मैले रेकर्डिङ रुममा गएर भने, ‘यो मेरो गीत हुनेछ।’ त्यहीँबाट ‘बिजली–बिजली’ सुरु भयो । बिजली-बिजलीको रेकर्डिङ धेरै महिना पहिला भए पनि यसको भिडिओ खिच्न भने लामै समय लाग्यो । एजेन्सी