भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

 

काठमाडौं-  मिस युनिभर्स २०२१ को उपाधि भारतले जितेको छ । भारतकी हरनाज कौर संधुले आज भएको फाइनलमा मिस युनिभर्सको उपाधि जितेकी हुन् । उससँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् २००० मा भारतकी लारा दत्ताले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । त्यसअघि १९९४ मा पनि भारतकी सुस्मिता सेनले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

मिस युनिभर्सको उपाधि जित्ने तेस्रो भारतीय बनेकी २१ वर्षकी हरनाज कौरको जन्म सिख परिवारमा भएको थियो । फिटनेस र योगप्रेमी हरनाजले किशोर अवस्थाबाटै सौन्दर्य प्रतियोगितामा भाग लिन सुरु गरेकी थिइन् । २०१७ मा उनले मिस चण्डीगढको उपाधि जितेकी थिइन् । विगत केही समययता उनी ग्ल्यामर क्षेत्रमा निकै सक्रिय थिइन् ।

हरनाजले ‘यारा दिया पू बरन’ र ‘बाइ जी कुट्टेंगे’ जस्ता पंजाबी गीतमा मोडलिङ पनि गरेकी छिन् । उनले २०१९ मा फेमिना मिस इण्डियामा पनि भाग लिएकी थिइन् । हरनाजको परिवार मोहालीमा बस्छन् । उनले २०१८ मा म्याक्स इमर्जिङ स्टार इण्डियाको उपाधि पनि जितेकी थिइन् । उनले २०१८ मै मिस इण्डिया पंजाबको उपाधि जितेकी थिइन् । त्यस्तै यसै वर्ष उनले मिस डिभा युनिभर्स इण्डियाको उपाधि जितेकी थिइन् ।