चितवनमा दीप श्रेष्ठ एकल साँझ हुने

चितवनमा अँग्रेजी नयाँ वर्षको अघिल्लो रात दीप श्रेष्ठ एकल साँझ हुने भएको छ । भरतपुर–६ र १३ मा पर्ने लेक ट्वान्टी थाउजन्ट फार्म एण्ड रिट्रिट, हवेलीको आयोजनामा सांगीतिक कार्यक्रम हुन लागेको हो ।

कोभिड–१९ संक्रमणबाट नयाँ जीवन पाएका वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले २० भन्दा बढी गीत गाउने छन् । विहीबार आयोजित पत्रकार सम्मेलनमा गायक श्रेष्ठले मृत्युको मुखबाट बाँचेर आएकोले थप उर्जासहित गीत प्रस्तुत गरिने बताए । ‘नयाँ जीवन पाएकोले उत्साह थपिएको छ, मेरो गीतमा दर्शकहरु झुम्नुहुनेछ भन्नेमा विश्वस्त छु, यसपटक नचाउँछु’–गायक श्रेष्ठले भने ।

गायक श्रेष्ठ कोभिड–१९ संक्रमणका कारण २३ दिनसम्म अस्पताल बसेर निको भएका थिए । सोही कारण यस कार्यक्रमलाई उनले पुर्नजन्मको उत्सवको रुपमा लिएको बताए । एकल साँझ पुस १६ गते साँझ ६ बजेबाट हवेलीमा सुरु हुनेछ । ‘संगीताञ्जली दीप श्रेष्ठ एण्ड व्याण्ड म्युजिकल नाइट’ नाम दिईएको कार्यक्रम राति १२ बजेसम्म चल्ने हवेलीका संचालक देवेन लोहनीले जानकारी दिए । उनले नेपाली सांगीतिक क्षेत्रका एक ताराको रुपमा रहेका गायक श्रेष्ठको प्रस्तुती हेर्न विभिन्न जिल्लाहरुबाट दर्शक आउने जानकारी दिए । उनका अनुसार यही कार्यक्रमका लागि धरान, पोखरालगायत ठाउँबाट दर्शकहरु आउँदैछन् ।

गायक श्रेष्ठले कार्यक्रममा सहभागिता जनाउनका लागि चितवनबासीलाई विशेष आह्वान गर्दै पायक पर्ने देशका सबै ठाउँबाट सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रमलाई वरिष्ठ कलाकार गौरी मल्ले संचालन गर्नेछिन् । साथै बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईको समेत बेजोड प्रस्तुती समेत रहने छ । कार्यक्रममा प्रवेशका लागि २ हजार रुपैयाँको टिकट रहेको छ । कार्यक्रममा एक हजार ५ सय भन्दा बढीको सहभागिता रहने लोहनीले जानकारी दिए ।