निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन २’ सार्वजनिक, पल र कविताको लभ क्यामेस्ट्री

युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ ।

थारु भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् । ‘ओ सिजनको पहिलो भागलाई धेरै मन पराएपछि दोस्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ । पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ । छिट्टै सार्वजनिक गर्नेछौं ।’