सरकारको निर्णयले फिल्मकर्मीलाई आंशिक राहत

नेपाली फिल्मको अवस्था के हुन्छ भन्ने कुरा फिल्म निर्माताको टाउको दुखाइको विषय बनेको छ । हुन पनि किन न होस् कोरोना संक्रमितको संख्या २४ घण्टामा झण्डै दोब्बरले बढ्दो जो छ । यस्तै परिस्थिति बन्दै गयो भने हलमा आएर फिल्म हेर्ने दर्शक नहोलान् भन्ने पिर बढ्दै गएको छ ।

नेपालमा खुलेका कुल हलमध्ये अधिकांश हल उपत्यकामै छन् । संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यका संक्रमणको हटस्पट बन्दै गइरहेको छ । यस्तो अवस्थामा हलको स्थिति के हुन्छ भन्ने प्रश्न यहीँबाट सुरु हुन्छ ।
यस्तैमा कोभिड संक्रमणको बढ्दो ग्राफलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाका तीन सीडीओको आज बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
यस्तै बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकृत उमाकान्त अधिकारी भन्छन्, ‘सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुन नपाउने भनिएको हो तर हलको सवालमा माघ ७ गते देखि खोपकार्ड देखाएर छिर्न सकिने नियम छ । खोप कार्ड हुने दर्शकले हलमा गएर फिल्म हेर्न सक्नुहुनेछ ।’