नायीका स्वस्तिमाले खेलेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’को ट्रेलर सार्वजनिक

नायीका स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।

दुई मिनेट ४१ सेकेन्ड यो फिल्मको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको छ। यो फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् भने राजीव शेट्टीद्वारा निर्देशित रहेको छ ।

फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्। यसमा जेभियर एलेक्स र राजीव शेट्टीको लेखन रहेको छ ।

नेपालका थुप्रै ठाउँका दृश्यहरू ट्रेलरमा देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ।

यस फिल्ममा स्वस्तिमा खड्काको (आइटम डान्स) का केही झलकहरू पनि रहेका छन्। आइटम डान्स गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी देखिन्छिन्।

यस्तै ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ।

कमेडी जनरामा बनेको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ।