अमेरिका पठाउने आरोपमा मानव तस्करी गर्ने ‘मोडल’ सुधा जेल चलान

नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षिया युवती सुधा देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मानव बेचबिखनको आरोपमा मोडलसमेत रहेकी देवकोटाले अमेरिका लैजाने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको आरोपमा पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ गरेको हो ।

दुई युवकलाई अमेरिका पठाउने भन्दै विदेश लगेर बन्धक बनाएकी थिइन् । श्रीमान् मुक्तिनारायण केसीसँग मिलेर उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ । देवकोटाले केही वर्षअघि म्युजिक भिडियोमा अभिनय गरेको र हाल आफ्नै नाममा युट्युब च्यानल चलाउँदै आएकी थिइन् ।

दुई जनालाई जाकार्ता हुँदै अमेरिका पठाउने प्रयास गरेको तर उनीहरु त्यहाँबाट फर्किएका थिए ।

एक पीडितलाई उनले २५ जनवरी ०१९ मा इन्डोनेसियाको जाकार्ता हुँदै बोलिभियामार्फत अमेरिका लैजाने आश्वासन दिई इन्डोनेसिया लगेकी थिइन् । तर, एयरपोर्टमा सेटिङ नमिलेको भन्दै नेपाल फर्काई इथियोपियाबाट मेक्सिको हुँदै अमेरिका लैजाने बताएका थिए । इथियोपियामा तीन महिनासम्म बन्धक बनाइएको थियो । पछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए ।

त्यस्तै, अर्का पीडितलाई दिल्ली हुँदै लैजाने भनेर त्यहाँ पुर्याई दुई महिनासम्म राखिएको थियो । पछि नेपाल फर्काई १९ फ्रेब्रुअरी ०१९ मा इन्डोनेसिया पुर्याइएको थियो । त्यहाँ सात महिनासम्म बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो । भिसा अवधि सकिएपछि उनी त्यहाँ १४ दिन जेलसमेत बसेका थिए । जेलबाट छुटेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल निष्कासन गरेको थियो ।

देवकोटा पीडितको जाहेरीका आधारमा पक्राउ परेकी हुन् । उनले एक जनासँग १९ लाख तथा अर्कासँग १५ लाख रुपैयाँ लिएको खुलेको छ ।