गायिका रचनाले ल्याइन् ‘उड्ने रहर’

पछिल्लो पुस्ताकी बहुचर्चित गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘उड्ने रहर’बोलको गीत आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् ।

गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ ।

किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, राहुल प्रधानको एरेन्ज रहेको गीतमा रचनाको एकल गायन छ । गायिका रचना स्वयं फिचरिङ भिडियोमा मिराज अर्यालको छायांकन, निर्देशन एवं सम्पादन छ । शुक्रबार सार्वजनिक गीतको भिडियोलाई आईतबारसम्म युट्युबमा ७३ हजार बढीले हेरिसकेका छन् ।

उड्ने रहर त के भो र आकाश नै भुईमा खसेपछि जस्ता मर्मस्पर्शी शब्दहरुमा गायिका रिमाल बगेर सलल पोखेका भावहरुलाई भिडियोमा कैद गरिएको छ ।

गीत सुन्ने र भिडियो हेर्ने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । रचनाले यसअघि आफ्नो युट्युब च्यानलमार्फत ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । सो गीत ल्याएको केही अन्तरमा उनले ‘उड्ने रहर’ बोलको गीत ल्याएकी हुन् ।

रचनाका स्वर रहेका अन्य गीतहरु भने सार्वजनिक भईरहेका छन् ।