निफको पाँचौ संस्करण आगामी चैतमा हुने

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको यस वर्षको संस्करण ‘निफ २०२२’ चैत १० देखि काठमाडौंमा हुने भएको छ । निफको पाचौं संस्करण चैत १० गतेदेखि चैत १४ गतेसम्म हुन लागेको हो ।

फिल्म महोत्सवमा विभिन्न ३८ देखिका ८९ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवका लागि ५५ देशबाट चार सय भन्दा धेरै फिल्महरु प्रदर्शनका लागि आएका थिए ।

महोत्सवको फिल्म छनोट समितिले भने तीमध्येबाट ८९ फिल्मलाई महोत्सवमा प्रदर्शनका लागि छनोट गरेको छ । यसमा फिचर फिल्म, लघु चलचित्र, एनिमेटेड फिल्मलगायत विधाका फिल्महरु रहेका छन् ।

महोसत्वमा अन्तराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर पुरस्कार राशिको गौतमबुद्ध अवार्ड र राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्मको प्रतिस्पर्धाबाट एउटालाई अन्तराष्ट्रिय फिल्म समाजले प्रदान गर्ने ‘आइएफएफएस डन किहोटे अवार्ड’ प्रदान गरिनेछ । यस्तै, यसवर्षबाट पचास हजार नगद पुरस्कारसहितको उत्कृष्ट डकुमेन्ट्री अवार्ड पनि प्रदान हुनेछ ।

यी बाहेक महोत्सवमा सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बागमती अवार्डलगायतका अवार्डहरु प्रदान गरिनेछ ।