फिल्म ‘पुष्पा’ जसले अस्वीकार गरे

फिल्म ‘पुष्पा’ले विश्वभरबाट ३ सय करोड हाराहारी कमाइ गरेको छ । हिन्दी भर्सनबाट मात्र यसले सय करोड कमाइ गरेको छ । त्योबाहेक फिल्मको घरेलु बजार तेलगुमा पनि यसले राम्रो आम्दानी गरेको छ । फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको भूमिका सबले रुचाएका छन् । अझ अल्लु अर्जुनले फिल्मका लागि गरेको मेकओभरले धेरैलाई चकित तुल्याएको छ । तर निर्देशक सुकुमारको नजरमा यो फिल्मका लागि न अल्लु अर्जुन पहिलो रोजाइ थिए न रश्मिका ।

उनले यो फिल्मका लागि सुरुमा अरु नै कलाकारलाई सम्झेका थिए तर उनीहरुको रुचि नभएपछि वा समय नमिलेपछि अल्लु अर्जुन र रश्मिका फिल्ममा जोडिएका हुन् । यो फिल्ममा पहिला नाम जोडिएका कलाकारको सूची यस प्रकार रहेको छ ।

महेशबाबु थिए सुकुमारको पहिलो रोजाइ

धेरै वर्ष पहिले सुकुमारले महेशबाबुलाई लिएर फिल्म बनाउने चर्चा थियो । त्यो प्रोजेक्ट बनेन । जब सुकुमारले ‘पुष्पा’को स्क्रिप्ट तयार गरे, उनले सबैभन्दा पहिला महेशबाबुलाई सम्झिएका थिए । महेशबाबुलाई कथा मन परेको भए पनि उनी मेकओभरका लागि तयार थिएनन् । उनले नखेल्ने बताएपछि सुकुमारले अल्लु अर्जुनलाई साइन गरेका थिए ।

श्रीभल्लीमा थिइन् सामन्था

मान्छेले ‘पुष्पा’मा रुचाएको अर्को चरित्र हो, श्रीभल्ली जसलाई रश्मिका मन्दानाले निर्वाह गरेकी छिन् । यसका लागि पनि सुकुमारले सामन्था रुथ प्रभुलाई प्रस्ताव गरेका थिए । तर समय नभ्याएपछि उनले यो भूमिका गरिनन् । बरु उनले ५ करोड लिएर आइटम गीत गरिन् । यसका लागि उनलाई अल्लु अर्जुनले मनाएको चर्चा छ ।

दिशाको आइटम गीत

सामान्था रुथ प्रभुले जीवनमा यसअघि कहिलै पनि आइटम गीत गरेकी थिइनन् । त्यसैले निर्माताको नजर थियो दिशा पटानीमा । दिशालाई नचाउन निर्माता राम्रै रकम खर्च गर्न तयार पनि थिए तर दिशाले खै किन हो यो प्रस्ताव अस्वीकार गरिन् । दिशाले नाइँनास्ती गरेपछि धेरै नजर नोरा फतेहीमा पनि थियो । निर्माताले नोरालाई पनि प्रस्ताव लगेका थिए तर जब नोराले नाच्ने दाम भनिन्, निर्माताको सातो गयो । पैसा नै तिर्न परेपछि सामान्थालाई नै तिरौँ भन्ने भएर सामान्थालाई लिएर गीत सुटिङ भयो ।

फवाद फजिलको ठाउँमा विजय सेतुपति

बनवार सिंह सेखावतको रुपमा फहाद फजिलले ‘पुष्पा’मा दामी अभिनय गरेका छन् । तर यो भूमिकाका लागि पनि सुकुमारले विजय सेतुपतिले लिन हत्ते गरेका थिए । विजय सेतुपतिको समय नमिलेपछि फहाद फजिल फिल्ममा आबद्ध भएका थिए ।

निर्देशक सुकुमारको पहिलो रोजाइका कलाकार फिल्ममा नभए पनि ‘पुष्पा’ अत्यधिक हिट भयो । अब यो फिल्मको दोस्रो भाग मार्चदेखि फ्लोरमा जाने चर्चा छ ।