फेरि मञ्चन हुँदै पुरानो घरमा ‘लाटीको छोरा’

काठमाडौंको सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नाटक ‘लाटीको छोरा’ फेरि मञ्चन हुने भएको छ ।

सुलक्षण भारतीको निर्देशनमा बनेको नाटक ‘लाटीको छोरा’ पुस ३० देखि माघ ९ सम्म पुरानो घर थिएटरमा मञ्चन भएको नाटक माघ २४ देखि फेरि मञ्चन हुने भएको हो।

श्याम शाहको कथामा आधारित भएर बनाइएको नाटकको लेखन तथा निर्देशन रंगकर्मी सूलक्षण भारतीले गरेका छन् । ‘लाटीको छोरा’समाजमा टाठाबाठा र व्यवस्थाको मारमा शोषित हुन बाध्य भएका भुइँमान्छेको कथा हो ।

हेर्न छुटेका दर्शकको आग्रहमा नाटक फेरि मञ्चन गरिने भएको पुरानो घर थिएटरले जनाएको छ। श्याम शाहको कथा संग्रह ‘अब्बा’मा संग्रहित कथा ‘लाटीको छोरा’मा आधारित रहेर नाटक तयार भएको हो।

भारतीकै नाट्य रूपान्तरण रहेको नाटक चार वर्ष पहिले पनि मण्डला नाटकघरमा मञ्चन भएको थियो। पुरानो घरकै विद्यार्थीलाई लिएर भारतीले ‘लाटीको छोरा’ फेरि मञ्चन गरेका थिए। नाटकमा बोल्न र सुन्न नसक्ने एक महिलामाथि कसरी समाजका उच्च तप्कामा पुगेका मानिसहरुले अत्यचार गर्छन् र त्यो अत्यचारको आरोप भने समाजको तल्लो तप्कामा रहेको मानिसमाथि लगाएको कथा नाटकमा देख्न सकिन्छ।

पुरानो घरको दोस्रो नाटकको रूपमा मञ्चन भएको नाटकलाई दर्शकले निकै मन पराएका थिए। नाटकमा सरिता भुजेल, सागर भट्टराई,अरून सिंह पौडेल, गोविन्द सुनार, प्रकाश थापा लगायतका कलाकारको अभिनय रहेको छ। माघ २४ देखि पुनः मञ्चन हुने नाटक फागुन १ गतेसम्म चल्नेछ।