‘लाइफ इन एलए’ ९ वैशाखमा

नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको फिल्म नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल प्रदर्शन लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । अमेरिकामा दर्शकले निकै रुचाएको फिल्मले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।