पल शाहविरुद्ध गैंडाकोटमा पनि किटानी जाहेरी दर्ता

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ ।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिएकी हुन् । आज (आइतबार) दिउँसो आफन्तहरूसहित ती गायिकाले प्रहरी कार्यालयमा पुगेकी छन् । उनी अहिले पनि प्रहरी कार्यालयमा रहेकी छन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा गराइएको जाहेरीमा नाबालिका छोरीलाई प्रेम गरेको झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।