एक लाख राशिको राष्ट्रिय सङ्गीतकार पुरस्कार जङ्गमलाई प्रदान गरिने

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमलाई यस वर्षको बिजुली माया वन राष्ट्रिय सङ्गीतकार पुरस्कार प्रदान गरिने भएको छ ।

भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जङ्गमलाई १ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले फागुन २८ गते एक समारोहका बिच जङ्गमलाई पुरस्कार प्रदान गरिने बताए । हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नामबाट बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका हुन्।

बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट पहिलो पटक २०६४ सालमा अम्बर गुरुङ पुरस्कृत भएका थिए । त्यसयता प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मोलाई सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ सङ्गीतकार तुलसी थापा, मुक्तिगोविन्द वैद्य, सुशीला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, महासचिव केशवलाल श्रेष्ठ, पुरस्कार स्थापना गर्ने समाजसेवी तथा संगीतप्रेमी कन्हैयाकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।