‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत ‘पीडा भए नि’ सार्वजनिक

हलमा प्रदर्शन भएको ४ दिनपछि ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘पीडा भएनी’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा बोल्ने यो गीतमा अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज द्यौरालीको शब्द छ ।

यो गीतको भिडियोमा नायिका पूजा शर्मा फिचर्ड छिन् । फिल्ममा छाया पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत गाइरहेको देख्न सकिन्छ । फिल्मको गीतमा नायक पल शाहलाई भने प्रहरीले पक्राउ गरेको देखाइएको छ । यो गीतले फिल्मको कथाको सार भन्न खोजेको वुझ्न सकिन्छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मले शुक्रबार÷शनिबार सन्तोषजनक व्यापार गरेको रिपोर्ट आइरहेका छन् । पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा तयार भएको फिल्ममा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ । यो गीतले फिल्मको व्यापारमा मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ ।