पल शाह प्रकरणमा दुर्गेश र सम्राटले दिए बयान

बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापाले बयान दिएका छन् । थापाले दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् ।

उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको छ । उनीहरु बयान दिन तनहुँ पुग्दा पल शाहका समर्थकहरुले नाराबाजी गरिरहेका थिए । पलको समर्थन तथा विरोधमा आफ्नो धारणा प्रस्तुत गर्नेको लर्को लागेको छ ।

प्रहरीले दुर्गेश र सम्राटलाई पूरै संरक्षण दिएर प्रहरी कार्यालयको पछाडिबाट कार्यालयभित्र लगेको बताइएको छ। पीडित परिवारले दिएको जाहेरीअनुसार कतिपय घटना र स्थानमा दुर्गेश र सम्राटको पनि उपस्थिति देखिएकाले प्रहरीले उनीहरुलाई बयानका लागि बोलाएको थियो। ‘दुर्गेश र सम्राटको बयान पनि पीडितकै पक्षमा रहेको,’ प्रहरी स्रोतको भनाइ छ।

एक नाबालिग गायिकाले शाहविरुद्ध बलात्कार गरेको जाहेरी दिएपछि आइतबार आफै प्रहरीसामु आत्मसर्मपण गरेका थिए । शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । अहिले कला कर्मीहरुले पनि पल शाह प्रकरणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार सम्प्रेषण नगर्न र आफुलाई प्राप्त भएका प्रमाणहरु अनुसन्धान अधिकृतलाई उपलब्ध गराउन आग्रह गरेको हो ।