कानुनी प्रक्रिया के के हुन्छ ? पल शाह प्रकरणमा

अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर गरिरहेका छन् ।

अब पल शाह प्रकरणमा कानुनी प्रकिया के के हुन्छ ?

अब अभिनेता पल शाहलाई प्रहरीले अनुसन्धानको लागि २५ दिनसम्म हिरासतमा राख्न सक्छ । २५ दिनभित्र अनुसन्धान पुरा गरी सरकारी वकिललाई राय ब्ुझाएपछि सरकारी वकिलले अभियोगपत्र तयार गरी सक्कल फाइल आरोपितसहित अदालतमा पेश गर्न सक्छ ।
एक अधिवक्ताको अनुसार अदालतमा प्रतिवादीको बयान हुन्छ । बयान पश्चात थुनछेक बहस हुन्छ । थुनछेक बहस तीन विषयमा केन्द्रीत हुन्छ ।

तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्ने, धरौटीमा राख्ने वा साधारण तारेखमा राख्ने यी तीन विषयमा थुनछेक बहस केन्द्रीत हुन्छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धि कसुर अनुसार दफा २१९(२)मा मन्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरको बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको भनिनेछ ।

त्यस्तै, दफा २१९ (३) (क) १० वर्ष कम उमेरको बालिका अशक्त, अपांग, ७० वर्ष माथिको महिला भए जन्मकैद हुने उल्लेख गरिएको छ। यसैगरी, ३(ख) १० वर्ष वा १०देखि १४ वर्ष कम भएमा १८–२० वर्ष सम्म कैद संजाय हुने भनिएको छ ।

यसैगरी, ३(ग) १४ वर्ष वा १० वर्ष भन्दा कम १६ वर्ष भन्दा कम भए १२–१४ वर्ष सम्म कैद संजाय तोकिएको छ । ३(घ) १६ वा १६ देखि १८ वर्ष भन्दा कम भएमा १० देखि १२ वर्ष सम्म कैद संजाय हुने भनिएको छ । त्यस्तै, ३(ङ)ं १८ वा १८ वर्ष भन्दा बढी भएमा ७ देखि १० वर्षसम्म कैद हुने उल्लेख गरिएको छ।

मुलुलकी फौजदारी कार्यविधि संहिता २०७४को परिच्छेद ७ थुनछेक, धरौटी तथा जमानत सम्बन्धि व्यवस्था गरिएको छ ।

जसमध्ये दफा ६७ अनुसार अभियुक्तलाई थुनामा राख्ने

क) जन्मकैदको संजाय हुने कसुर

ख) ३ वर्ष बढी कैदको सजाय हुने कसुर र

ग) (क) (ख) को कसुरको उद्योग, दुरुत्साहन वा षड्यन्त्र वा मतियार भएमा भन्ने उल्लेख गरिएको छ ।

अभियुक्त पल शाह विरुद्धमा नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेको र उक्त आरोप प्रमाणित भएमा निजलाई १० देखि १२ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७(१) (ग) मा ३ वर्ष बढी कैदको सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा राख्ने कानुनी व्यवस्थाबमोजिम तत्काल अभियुक्त पल शाह मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा जाने देखिन्छ ।