पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ ।

यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।

१७ वर्षीया गायिकाले आफूलाई जवर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि पल शाह पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन १५ मा आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए ।
शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी पनि परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मा अर्को जाहेरी परेको हो ।

नवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।